के कोभिड-१९ भन्दा फ्लु “बी” भाइरस कडा देखिन थालेको हो ?

डा. शेरबहादुर पुन

केहि दिन अगाडी एक ३८ बर्षिया महिलामा  अचानक छाती कस्सिएको, स्वर भासिएको, बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्याहरु देखा पर्‍यो,  त्यहि बेलुकी अचानक काम ज्वरो पनि आयो ।

त्यसको तीन दिनमा पातलो दिसा र बान्ता पनि भयो र हल्का सुक्खा खोकी देखियो। यी सबै भोगाई बिरामीले पहिलो लहरमा आफू कोरोना संक्रमित हुँदा देखिएको लक्षणहरु भन्दा कडा महसुस गरेको सुनाईन ।

हाल कोरोनाको चक्रले निरन्तरता पाईरहँदा र दैनिक दर्जनौ संख्यामा कोभिड-१९ को कारणले मृत्यु देखिरहँदा ती महिला आत्तिएर कोरोना निदानको लागि पीसीआर परीक्षण गराईन् । तर सो जाँचमा रिपोर्ट नेगेटिभ आयो ।

अब अर्को के गर्ने भन्नेमा अन्योलताकाबीच बिरामी मेरो सम्पर्कका आईन । मैले उनलाई फ्लु भाइरसको एक पटक जाँच गर्ने कि भनेर सल्लाह दिएँ । सोही अनुसार जाँच भयो । मैले अनुमान गरेजस्तै जाँचबाट फ्लु ‘बी’ भाइरस देखा पर्‍यो ।

यसबाट के प्रमाणित हुन्छ भने भने नेपालमा कोरोना संगसंगै फ्लु भाइरसको पनि चक्र देखिन थालेको छ । अर्को कुरा यति बेलाको यो मौसम फ्लु भाइरसका लागि अनुकुल मौसम पनि हो ।

फ्लु ‘ए’ र ‘बी’ भाइरसले बिशेषत मानिसमा संक्रमण गरे बढी स्वास्थ्यमा समस्या ल्याउने गर्दछ। फ्लु ‘ए’ ले बेला बेलामा पेन्डामिककै रुप लिने गरेको देखिन्छ भने फ्लु ‘बी’ को फैलावट हालसम्म स्थानीय तहमै सिमित देखिने गरेको पाइन्छ ।

नेपालमा फ्लुका लागि अनुकुल समय भनेर फेब्रुवरी–मार्च तथा जुलाई–अगस्ट गरि बर्षमा दुई पटक मानिन्छ। फ्लुका लागि अनुकुल मानिने यी मौसममा दुवै प्रजातिको भाइरसहरु देखिदै आइरहेका छन ।

गत बर्ष फ्लु नदेखिएको भएता पनि सन् २०२१ यता भने फ्लु भाइरसले आफ्नो गति लिन थालेको देखिन्छ । यद्धपी कोरोना महामारीको कारणले गर्दा फ्लु भाइरस ओझेलमा परेको देखिन्छ।

कतिपय निमोनिया भएका बिरामीमा कोरोना नेगेटिभ देखिने गरेको भएता पनि फ्लुको परीक्षण गर्ने गरेको पाहिदैन। फ्लु भाइरस संक्रमितमा पनि निमोनिया कडा देखिने गरेको बिगतको अनुभव म संग छ ।

फ्लुका प्रकार र लक्षणहरु :

फ्लु’बी’ यामागाता र भिक्टोरिया गरि दुई लिनिजमा बाढिएका छन् । यसको मुख्य लक्षणहरुमा अचानक काम ज्वरो आउनु, टाउको दुख्नु, जिउ दुख्नु, खोकी सहित छातीमा कस्सिएको महसुस हुनु, बान्ता हुने, थकित तथा कम्जोर हुने जस्ता देखिने गर्दछन्। यस्ता लक्षणहरु संक्रमित भएका एक देखि चार दिनमा देखिने गर्दछन। फ्लु ‘बी’ मानिसबाट मानिसमा सजिलै सर्ने गर्दछ।

माथि उल्लेखित संक्रमितको परिवारका अरु सदस्यहरुमा पनि फ्लुको लक्षणहरु देखिएका छन् । यो फ्लुले उपचार समयमा हुन नसके निमोनिया लगायत समस्या देखा पर्ने र शरीरका अरु अंगहरुमा पनि क्षति पुर्‍याउन सक्दछ । त्यसो त ‘जर्नल अफ इन्फेकसियस डिजिज’मा प्रकाशित अनुसन्धान लेखमा झण्डै एक तिहाई भन्दा बढी फ्लु ‘बी’ संक्रमितमा ब्याकटेरियल इन्फेक्सन पनि देखिएको थियो।

फ्लुको संक्रमण भए के गर्ने ?
फ्लु ‘बी’ संक्रमण भएमा सामान्यत प्रसस्त झोलिलो खानेकुरा खाने र आराम गरे बिस्तारै कम भएर जान्छ । लक्षणमा आधारित औषधीहरु चिकित्सकको सल्लाहमा लिन सकिन्छ तर जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती तथा बालबालिका जस्ता जोखिम समूहमा पर्नेहरुले चिकित्सकको निगरानीमा रहनु बुद्धिमानी हुनेछ। अर्को भनेको फ्लु ‘बी’ बिरुद्धको खोप पनि उपलब्ध छ। त्यो खोप लिएर पनि आफू सुरक्षित हुन सकिन्छ ।

नेपालमा जुलाई महिना देखि फ्लु ह्वात्तै बढेको देखिन्छ।

हङकङ फ्लुको नामले चिनिने फ्लु H3 र फ्लु “बी” देखिदै आइरहेको भएता पनि चाखलाग्दो कुरा नेपालमा नियमित जस्तो देखिदै आइरहेको स्वाइन फ्लुको नामले चिनिने H1N1pdm09 भने पछिल्लो समय देखिएको छैन ।

फ्लु “बी” मा भिक्टोरिया लिनिज नेपाल देखिदै आइरहेको छ। तर, नेपालमा जाँच गर्दा फ्लु “बी ” अन्तर्गत यामागाता र भिक्टोरिया लिनिजमा नपर्ने नमूनाहरु पनि प्रशस्त देखिन थालेका छन् ।

यसले नेपालमा फ्लु ‘बी’ को नयाँ भाइरस देखिदै गरेको/थालेको हो ? के यो अघिल्लो लिनिजहरु यामागाता र भिक्टोरिया भन्दा घातक हुन सक्ला ? भन्ने जस्ता प्रश्नहरु उव्जाउन थालेको छ । यद्धपी यस्ता प्रश्नहरुको सम्बोधन अनुसन्धान पछि मात्र थाहा हुनेछ।

अन्तमा, नेपालमा हाल फ्लु भाइरसले तिब्रता पाईरहेको र त्यसले स्वास्थ्यमा पार्ने असर पनि गम्भीर हुने देखिएकोले फ्लु भाइरसको निदान र उपचारलाई पनि नजर अन्दाज गर्नु हुदैन्।किनभने मैले सुरुमै उल्लेख गरेको फ्लु ‘बी’ संक्रमित बिरामीलाई कोभिड-१९ हुँदा भन्दा बढी स्वास्थ्यमा सकस भएको अनुभव छ । यस आधारमा पनि भन्न सकिन्छ कि फ्लु ‘बी’ पनि कडा भाइरस मध्येको एक हो ।

#डा. पुन टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *