पैसा सकिएपछि जोगीले भने – ‘उपचार छाड्न मन छैन् निरन्तरताका लागि धन छैन्’

काठमाडौँ, २३ साउन । रक्त क्यान्सरबाट पिडीत श्रीमतीको उपचार गर्न खर्च सकिएको भन्दै श्रीमानले सरकार र सर्वसाधारणसंग हारगुहार मागेका छन् । मिनभवनस्थित सिभिल सर्भिस अस्पतालमा उपचाररत बाल कुमारी जोगीको उपचार खर्च सकियो भन्दै उनका श्रीमान् खेमबहादुर जोगीले सरकार र सर्वसाधारणसंग हारगुहार मागेका हुन् ।

सिभिल सर्भिस अस्पतालमा रक्त क्यान्सरको उपचार गराइरहेकी २८ वर्षीया जोगीको उपचार राम्रो हुँदै गएको डाक्टरले बताएका छन्। तर अस्पतालमा लामो समय राखेर उपचार गर्नु पर्ने रोग भएको र आफन्तसँग ऋणपान गरेर ल्याएको पैसा सकिएकोले अब उपचार कसरी गर्ने भन्ने दुविधामा आफु रहेको खेम बहादुरले बताए।

उनले दुई नाबालक सन्तानकी आमालाई बचाउँन उपचार जारी राख्नुपर्ने तर त्यसका लागि खर्च अभाव भएको सुनाए । ‘उपचारका लागि केही समय र रकम लाग्ने भएको छ । तर रकम छैन् । उपचार हुँदा हुँदै कसरी निकालु ? लौ न सहयोगी मनले मेरो पुकार सुनिदिनु पर्‍यो,’ खेमबहादुरले विन्तीभाव प्रकट गरे ।

कटारी- १३, मयाँखु, उदयपुरका खेमबहादुर मजदुरीका लागि काठमाडौँ आएका थिए । उनी धापासीमा बस्थे र दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दथे । श्रीमती सहित १३ र ११ वर्षिय छोरा छोरीहरु गाँउमै बस्ने गरेका थिए।

असारको अन्तिम साता बाल कुमारीको दाँतबाट रगत आयो भनेपछि काठमाडौं बोलाई बसुन्धराको कान्तिपुर डेन्टल कलेजमा जचाउन लगेका थिए । ‘ त्यहाँ जचाउन जाँदा डाक्टरले यो दाँतको सामान्य समस्या मात्र हैन शरीरमा सेतो रक्तकोषको पनि कमि देखिएको छ । क्यान्सर पनि हुनसक्छ भन्दै सिभिल सर्भिस अस्पताल रिफर गरिदिनु भयो । यहाँ आएर जाँच गर्दा रक्तक्यान्सर देखियो अहिले यसैको उपचारमा लागिरहेका छौ,’ खेमबहादुरले भने ।

उनले उपचारमा लाग्ने खर्च आफूले धान्न नसकेको बताए । ‘मेरो आफ्नै मिर्गौला पनि सुन्निएको छ तर तर श्रीमतीको यस्तो अवस्था आएपछि आफू बिरामी छु भन्न पनि सकेको छैन्,’ उनले भने ।

‘डाक्टरले अलि राम्रो हुदै गएको छ भनेको र अस्पताल भर्ना भएको भन्दा बिरामी अलि राम्रो हुँदै गएकाले उपचार छाड्न मन मान्दैन तर उपचार गर्न धन छैन,’ उनले भने।

सहयोग गर्न चाहनेले आफूलाई ९८६३८७९९३४ नम्बरमा फोन गरेर वा माछापुच्छ्रे बैकको खाता नं ०४४०९३३७७९७०१३५२ खेम बहादुर जोगीका नाममा बैकमा जम्मा गरेर पनि सहयोग गर्न सकिने उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *