प्रसूतिगृह अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्दै सरकार

2.8k
Shares

काठमाडौँ, १८ साउन । सरकारले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ (आमाको दुध भण्डारण गर्ने केन्द्र)स्थापना गर्ने भएको छ ।

विश्व स्तनपान दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले यसै बर्ष देखि ह्युमन मिल्क बैंक स्थापना गरी सञ्चालनमा ल्याउने जानकारी दिएको हो ।

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए ।

‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरुको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरेको हो,’ विश्व स्तनपान सप्ताहको शुभारम्भ कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जुन आमाको दूध तत्काल आउँदैैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौं । ह्युमन मिल्क बैंक यसै वर्ष काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्थापना गरिनेछ ।’

शाखाले यसरी स्थापना गरिने मिल्क बैंकमा दूध राख्नका लागि एक करोड पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ । सो बजेटबाट मेसिन खरिद गर्ने तयारी गरिएको पनि जनाएको छ ।

‘यो मेसिन ल्याएपछि आफ्नो प्रसस्त दुध आउने आमाहरुले बैकमा गएर आफ्नो दुध अन्य शिशुका लागि दान गर्न सक्नेछन् । त्यसअघि आमाको स्वास्थ्य सुरक्षा, दिन मिल्ने नमिल्ने सबै जाँच गरिन्छ । अनि मात्रै डोनेसन गर्ने हो । यो पूर्ण रुपमा सुरक्षित हुन्छ र दुधको अभाव हुने शिशुका लागि त्यो दुध प्रदान गरिन्छ,’ शाखा प्रमुख पराजुलीलले भने ।

आइतबारबाट शुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ । ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ मनाउन शुरु गरिएको स्तनपान सप्ताहमा सबै स्थानीय तहमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना हुने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *