स्वास्थ्यबाट विदा भए सचिव अर्याल र प्रमुख विशेषज्ञ श्रेष्ठ
काठमाडौँ, १७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आज सचिव लक्ष्मण अर्याल र प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ विदाई भएका छन् । अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि विदाई भएका हुन् । प्रमुख विशेषज्ञ श्रेष्ठ भने ६० वर्षे उमेर हदका कारण विदाई भएका हुन् ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा विशिष्ठ श्रेणीका दुबै कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संक्षिप्त कार्यक्रम गरी विदाई गरेका थिए । विदाई हुनु अघि सचिव अर्यालले मन्त्रालयका हरेक महाशाखामा पुगेर मातहतका कर्मचारीसंग विदा हुन लागेको जानकारी गराएका थिए । उनले नयाँ सचिव डा पोखरेललाई सहयोग गर्न समेत भनेका थिए ।
उता श्रेष्ठले पनि आफ्नो कार्यकालमा गरेका आफ्ना अनुभवहरु कर्मचारीमाझ राखेका थिए । ‘४१ बर्ष १ महिना २५ दिन मैले सरकारी सेवामा विताएँ । र मैले अहेव, एचए, जनस्वास्थ्य अधिकृत हुँदै स्वास्थ्यको सबैभन्दा माथिल्लो तह विशिष्ठ श्रेणी बाह्रौँ तहमा आईपुगें,’ सहकर्मीहरुलाई उनले सुनाएका थिए ।
हुन पनि प्रमुख विशेषज्ञ श्रेष्ठले स्वास्थ्य चौकी, अस्पताल, जिल्ला स्वास्थ्य, क्षेत्रीय स्वास्थ्य, विभाग, मन्त्रालय र त्यसमा पनि विभिन्न महाशाखाको अनुभव संगाल्ने कर्मचारी हुन् ।
सचिव अर्यालले कोरोना कारण गञ्जागोल अवस्थामा पुगिसकेको स्वास्थ्यलाई व्यवस्थित गर्ने कार्यहरुको थालनी गरेका थिए । उनले खोप व्यवस्थापनमा समेत उत्कृष्ठ कार्य गरेका थिए ।
विदाई समारोहमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले दुबै जना कर्मचारीले स्वास्थ्य सेवामा पुरयाएको योगदानको चर्चा गर्दै स्वास्थ्यले सम्झिरहने बताए । उनले आगामी दिन थप सफलता र सुखमयका साथ वितोस भन्दै शुभकामना दिए ।
समारोहमा अर्याल र श्रेष्ठले आफूहरुले स्वास्थ्यमा गरेका काम र अनुभव बाँढेका थिए ।
सम्पर्क इमेल : [email protected]