आज काठमाडौँमा ३० हजार ७०८ जनाले लगाए भेरोसेलको पहिलो डोज

232
Shares

काठमाडौँ, १४ साउन । आज काठमाडौँमा ३० हजार ७०८ जनाले भेरोसेलको पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जिल्लाभर तोकिएको ६६ वटा खोप केन्द्रमध्ये आज टोखा, बुढानिलकण्ठ र चन्द्रागिरीबाहेक ५६ वटा खोप केन्द्रमा मात्रै खोप सञ्चालन गरिएको थियो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबार (भोलि)देखि भने जिल्लामा तोकिएका ६६ वटा नै खोप केन्द्र सञ्चालनमा आउने बताए । उनले काठमाडौँ महानगरपालिकाको हरेक वडामा एक एक वटाका दरले ३२ वटा र सात वटा अस्पताल गरि कुल ३९ खोप केन्द्र सञ्चालन भएको जानकारी दिए ।

बिहीबार महानगर तथा नगरपालिकाका खोप केन्द्रहरुमा ५० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्ति, शिक्षक र चालकहरुका लागि खोप केन्द्र तोकिएको थियो ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि भने राधास्वामी आइसोलेसन सेन्टर, टेकु अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पताल तोकिएको छ ।

त्यसैगरी विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *