रुप फेर्दै कोरोना : नेपालमा भेटिएको ‘डेल्डा भेरियन्ट’मा पनि थप उत्परिवर्तन

काठमाडौँ, १२ साउन । नेपाल भेटिएको कोभिड – १९ को डेल्टा भेरियन्टमा पनि उत्परिवर्तन आएको छ । कोभिड -१९ संक्रमितबाट भाइरसको नमूना झिकेर ‘जिनोमिक सिक्वेन्सिङ’ गर्दा डेल्टा भेरियन्टमा उत्परिवर्तन आएको पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत जेठ मध्य देखि असार मसान्तसम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमूनाहरु विश्व स्वास्थ्य संगठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको थियो ।
परीक्षणका क्रममा सबै नमूनाहरु डेल्टा भेरियन्ट पुष्टि भएको र त्यसमध्ये थप ३ वटामा उत्परिवर्तन भेटिएको मन्त्रालयले उल्लेख गरेको छ । नयाँ उत्परिवर्तनलाई A.Y1 नाम दिइएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म भेसियन्ट अफ कन्सर्नको रुपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट भेटिएको पुष्टि भएको छ ।
यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनले पुष्टी गरेको भन्दै मन्त्रालयले स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




