झलनाथको उपचार खर्च सरकारले व्यहोर्न मिल्दैन : गगन थापा

काठमाडौँ, ६ साउन । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले भारतमा उपचार गराई रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले वेहोर्न नमिल्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रम खनाललाई टेलिफोन गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताएका थिए ।

पूर्वमन्त्री थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनले कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च सरकारले उपलव्ध गराउन नसक्ने भन्ने व्यवस्था रहेको भन्दै अहिले खनालको उपचार खर्च व्यहोरे कानूनको उल्लंघन हुने बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रै पालामा कानून बनेको हो, कानून २ असोज २०७५ देखि लागू समेत भईसकेको छ । बरु उहाँलाई उपचार खर्च चाहिए हामी सबैले सहयोग गरौँ ।’

झलनाथको उपचार खर्च व्यहोर्ने कुरा यसअघि केपी ओली नेतृत्वको सरकारले पनि गरेको थियो । त्यसबेलाको निर्णयको पनि गगनले चर्को आलोचना गरेका थिए ।

उपचार खर्च लिने वा नलिने भन्ने विषयमा खनाल परिवार भने अहिलेसम्म मौन बसेको छ ।

के भने गगनले ?

२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा  ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन,’ भन्ने व्यवस्था छ र उक्त कानून २०७५/६/र२ गतेदेखि लागू भइसकेको छ।

यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन।कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।

जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ।

झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं। मलाई विश्वास छ हाम्रो चाहना छिटै पुरा हुनेछ।

उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ।उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै।यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
अत: कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *