क्यान्सर रोगको औषधि उत्पादन अब नेपालमै

 

काठमाडौँ, ३ साउन । नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।

आइतबार राजधानीमा एक संक्षिप्त कार्यक्रम गरी टिजिगले आफ्नो तथा आफूले उत्पादन गरेका ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरुको समेत अनावरण गरेको छ । सो अवसरमा क्यान्सर रोग विशेषज्ञहरुबीच औषधिको विषयमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने आफ्नो कम्पनी नेपालकै पहिलो भएको बताए । उनले औषधि व्यवस्था विभागसंग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु भईसकेको भन्दै एक महिना भित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए ।

सत प्रतिशत विदेशी लगानी रहेको यस फर्माले आफ्नो स्थापना विश्व स्वास्थ्य संगठन र नेपालको प्रविधि हस्तान्तरणमा रहेको नियमानुसार भारतको हैदरवादमा रहेको एन्टि क्यान्सर औषधि उत्पादन र बिक्री बितरण गर्दै आएको फर्मा कम्पनीसंग प्रविधि हस्तान्तरण सम्झौँता गरि आफ्नो औषधि उत्पादन स्थल र कार्य अघि बढाएको छ ।

टिजिग फर्मामा अहिलेसम्म ३२ करोड रुपैयाँ लगानी भईसकेको छ भने यसको काभ्रेको बनेपा १ नालामा कुल १६ रोपनी क्षेत्रफल जग्गामा फेक्ट्री रहेको छ । त्यसमध्ये अहिले २० हजार स्वाएर फिटको पूर्वाधार तयार भइसकेको कार्यकारी निर्देशक बैद्यले बताए ।

उनले अत्याधुनिक प्रविधिमा बनाइएको आफ्नो फेक्ट्री डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना फेक्ट्री भएको समेत दावी गरे । ‘क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सीसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाँउमा अन्य औषधि उत्पादन गर्न मिल्दैन । अर्को कुरा हाम्रो फेक्ट्रीमा नविनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ उनले थप प्रष्ट पारे ।

टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक बैद्यले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *