‘कोभिड-१९ को संक्रमण वा संक्रमणपछि आउने समस्या समाधानमा प्राकृतिक चिकित्सा प्रभावकारी’

काठमाडौँ, १९ असार ।  कोभिड – १९ को महामारीका बेला योग तथा प्राकृतिक चिकित्साको महत्व अझ् बढेर गएको विज्ञहरुले बताएका छन् । उनीहरुले कोभिड – १९ को संक्रमणका बेला वा संक्रमण भइसकेपछि आउने समस्या समाधानका लागि योग तथा प्राकृतिक चिकित्सा प्रभावकारी भएको बताएका हुन् ।

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस २०७८ को पूर्व सन्ध्यामा योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले शनिबार आयोजना गरेको भर्च्युअल पत्रकार सम्मेलनमा योग तथा प्राकृतिक चिकित्सा र प्राकृतिक जीवनशैलीको कोभिड -१९ को प्रतिरोधमा पारेको प्रभावका बारेमा समेत चर्चा गरिएको थियो ।

संघका अध्यक्ष डा जनकबहादुर बस्नेतले योग तथा प्राकृतिक चिकित्सा र त्यस्तै जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमता बढाउने बताए । उनले कोभिडको जोखिम बढाउने अन्य रोगहरु जस्तै मोटोपना, मधुमेह, उच्च कोलेस्ट्रेरोल उच्च रक्तचाप, मुटुरोग मृगौला आदि रोगहरुको व्यवस्थापन गर्न समेत प्राकृतिक चिकित्सा तथा योग प्रभावकारी भएको जानकारी दिए ।

संघका उपाध्यक्ष डा योञ्जन गैरेले नेपालमा कोभिडपछि प्राकृतिक चिकित्सा र यसको महत्वको बारेमा छुट्टै अध्ययन नभएपनि प्राकृतिक चिकित्सालयमा भर्ना भएका संक्रमितको सुधारहुने दर अन्यको तुलानामा बढी देखिएको बताए । उनले पूर्वी नवलपरासीको रजघर, चितवनको देवघाट लगायतका स्थानमा खोलिएका प्राकृतिक चिकित्सालयमा कोभिड संक्रमितलाई राखी उपचार गरिएको भन्दै त्यहाँको सुधार दर अन्यन्त्रको भन्दा राम्रो भएको पाइएको बताए ।

महासचिव रविनलाल श्रेष्ठले प्राकृतिक चिकित्साको महत्व बढी भएपनि यसलाई सरकारले प्राथमिकता नदिएको आरोप लगाए । उनले भने, ‘अहिलेसम्म सरकारले एउटा दरबन्दी दिएको छ तर त्यसमा पनि पदपूर्ति हुन सकेको छैन् । प्राकृतिक चिकित्सा जो योगमा आधारित छ । यसलाई बढावा दिनुको सट्टा प्राथमिकतामा नै पारिएको छैन् ।,’

त्यसो त सरकारले प्राकृतिक चिकित्साको विश्वव्यापी एवं राष्ट्रिय महत्वलाई बुझेर विसं २०५९ असार २० गते नै प्राकृतिक चिकित्सालाई स्वास्थ्य सेवा विधा अन्तरगत राखी राष्ट्रिय चिकित्सा पद्धतीको रुपमा मान्यता प्रदान गरेको थियो । गत २०७४ असोज २३ गते बसेको मन्त्रिपरिषदको बैठले २० असारलाई राष्ट्रिय प्राकृतिक दिवस घोषणा गरेको थियो । त्यसयता यो दिवस मनाइदै आएको छ ।

अघिल्ला बर्षहरुमा भौतिक रुपमा उपस्थिति भएर मनाइने गरेता पनि यसपटक भने कोभिड – १९ को कारण भरच्युअल रुपमा यो दिवस मनाउन खोजिएको अध्यक्ष डा. बस्नेतले बताए । उनले यसपटकको नारा ‘कोभिड पछिको समस्यामा प्राकृतिक चिकित्सा’ भन्ने रहेको समेत जानकारी दिए ।

सरकारले प्राकृतिक चिकित्सकहरुको एउटा मात्रै दरबन्दी सिर्जना गरेको छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तरगर्तका क्याम्पसमा पढाई हुने यो चिकित्सामा अहिलेसम्म दर्ता भएका यस्ता चिकित्सकको संख्या ८० रहेको संघले जनाएको छ । अहिले भारत लगायतका देशहरुमा अध्ययन गर्नेको संख्या करीव १५० रहेको समेत संघले जानकारी दिएको छ ।

संघले आइतबार विहानै भरच्युअल माध्यमबाट यो दिवस मनाउने समेत जानकारी दिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *