बाढीपहिरो प्रभावितलाई खोप लगाउन प्राथमिकता दिने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौँ, १२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् ।

सो क्रममा उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गर्ने बताए । “कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ”, उनले भने, “हामी कुराभन्दा काममा विश्वास गर्दछौँ । त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ ।”

उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहनुभएका मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने बताए ।

यस्तै उनले कोभिडको सम्भावित तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने रु ३३ करोड रुपैयाँ स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन् ।

यसैगरी कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष (आइसियु), १०० भेन्टिलेटर, एक हजार ४०० हाइडिपेन्डेन्सी युनिट (एचडियु), २५० बालबालिकाका लागि श्यया थप गर्ने निर्णयमा समेत हस्ताक्षर गरेका छन् ।

कोरोना संक्रमण बढदै जाँदा स्वास्थ्य मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले देशका विभिन्न सरकारी अस्पताललाई एचडीयू, आइसीयू तथा भेन्टिलेटर खरीद गरी स्थापना गर्न र सञ्चालनमा ल्याउन भन्दै विभिन्न चरणमा रकम निकासा गरेको छ । जारी लकडाउन र आर्थिक बर्षको अन्त्य हुँदै गर्दा कतिपय अस्पतालले खरीद गरी खर्च गर्न सकेका छैनन् ।

मन्त्री श्रेष्ठले सो रकमले आगामी भदौ मसान्तसम्म तोकिएको उपकरण खरीद गरी सञ्चालनमा ल्याउन सक्ने निर्णय गरिदिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *