चिकित्सा शिक्षा शास्त्र स्नातक तहको प्रवेश परीक्षा ९ साउनबाट हुने सम्भावना बढ्यो

काठमाडौँ, ११ असार । चिकित्सा शिक्षा तर्फ स्नातक तहको प्रवेश परीक्षा आगामी ९ साउन देखि सुरु हुने सम्भावना बढेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीचको आजको छलफल ९ साउन देखि प्रवेश परीक्षा सुरु गर्ने विषयमा केन्द्रीत भएपछि सम्भावना बढेको हो ।

यसअघि आयोगले २६ असार देखि पाँच दिन परीक्षा सञ्चालन गर्ने भन्दै सीसीएमसीसंग अनुमति मागेको थियो । तर सीसीएमसीले आयोगको सो मितिमा सहमति दिन अस्वीकार गरेको छ ।

आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले आफ्ना केही पदाधिकारी र सीसीएमसीका प्रतिनिधिबीच आज भएको छलफल ९ साउन देखि परीक्षा शुरु गर्ने भन्ने विषयमा केन्द्रित रहेको बताए । तर उनले अन्तिम टुंगो भने आइतवार सोमबार तिर बस्ने आयोगको कार्यकारी समितिको बैठकले गर्ने र सो तालिकालाई सीसीएमसीले अनुमोदन गरेपछि मात्रै हुने बताए ।

‘आज म त सहभागी भएको होइन, अरु पदाधिकारी प्रतिनिधिहरु जानुभएको थियो । यसअघि हामीले २६ असारबाट परीक्षा गर्ने भन्दै अनुमति मागेका थियौँ । २६ गते भन्दा ९ गतेबाट गरौँ भन्ने विषयमा छलफल भएछ । अब आउदो आइतबार वा सोमबार हाम्रो कार्यकारी समितिको बैठक बस्छ । त्यसले निर्णय गरेपछि सीसीएमसीसंग अनुमति माग्छ । त्यसपछि अनुमति पाइयो भने परीक्षाको तालिका सार्वजनिक हुन्छ,’ प्रवक्ता लुईटेलले भने ।

उनले परीक्षा ५ दिन सञ्चालन गर्ने बताए । यसअघि आयोगले उपत्यका बाहिर पनि परीक्षा सञ्चालन गर्न सकिने भन्दै विद्यार्थीसंग विवरण माग गरेको थियो । आयोगले काठमाडौँ बाहेक विराटनगर, चितवन, नेपालगञ्ज लगायतका शहरमा पनि परीक्षा लिने तयारी गरेको थियो ।

डा लुईटेलका अनुसार एबीबीएस, बीडीएस, बीएन, तथा बिएसी नर्सिङ, फार्मेसी, पब्लिक हेल्थलगायत स्नातक तहका विभिन्न विषयमा ३२ हजार ८०० जनाले प्रवेश परीक्षाका लागि फारम भरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *