‘नो भ्याक्सिन-नो भोटको तँगारो हटाउने छु’ : स्वास्थ्य मन्त्री श्रेष्ठ

काठमाडौँ, ११ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो प्राथमिकता सबै नागरिकलाई कोभिडबिरुद्धको खोप दिनु रहेको बताएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदवहाली गर्न पुगेका स्वास्थ्य मन्त्री श्रेष्ठले मन्त्रालयको मात्रै नभई सिंगो सरकारको पहिलो प्राथमिकता जनतालाई कोभिडबिरुद्धको खोप दिनु रहेको बताएका हुन् ।

देशमा चुनाव घोषणा भइसकेको अवस्थामा जनताले पहिले खोप लगाउन पाउनु पर्ने बताईरहेको भन्दै त्यसलाई ध्यानमा राखेर सरकारले काम गरिरहेको बताए । ‘खोपका बारेमा अहिले धेरै हल्ला गर्नु उचित छैन् । हल्ला गर्दा हुन लागेको काम पनि बिग्रन सक्छ । तर एउटा कुरा के हो भने जनताले नो भ्याक्सिन नो भोट भनेर सरकारसामु तँगारो तेरस्र्याएको छ । त्यो तँगारो हटाउन खोप ल्याएर लगाउने र यस भ्याक्सिन यस भोट बनाउने योजनामा हामी छौँ । त्यसरी काम गरिरहेका छौं,’ मन्त्री श्रेष्ठले भने ।

उनले केपी ओली नेतृत्वको सरकारमा अहिलेसम्म छ जना स्वास्थ्य मन्त्री फेरिईसकेको प्रसंग निकाल्दै कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई स्थायी सरकार आफूलाई ठानेर काम गर्न निर्देशन दिए । ‘विगतमा के के भयो म जान चाहन्न । बर्तमानलाई हेर्नुहोस र काम गर्नुहोस् । चुनौती पूर्ण अवस्था छ तर यसलाई सहज ढंगले व्यवस्थापन गर्नुछ,’ उनले भने ।

मन्त्री श्रेष्ठले राजनीतिक आस्था फरक भएपनि स्वास्थ्य मन्त्रालयमा छिरिसकेपछि हामी सबैको लक्ष्य जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउनुहो भन्दै त्यस दिशामा एक जुट भएर काम गर्न समेत निर्देशन दिए ।

त्यसअघि स्वास्थ्य सचिव लक्ष्मण अर्यालले स्वास्थ्यले गरेका काम, कोभिडबिरुद्धको खोप खरीद प्रक्रिया लगायतका विषयमा जानकारी गराएका थिए । उनले आगामी असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई कोभिडबिरुद्धको खोप दिने योजनाका साथ काम अघि बढेको समेत बताए ।

मन्त्रालयका प्रमुख विशेषज्ञद्धय डा रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठले नयाँ मन्त्रीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कोरोना महामारीको पछिल्लो अवस्था र रोकथाम तथा उपचारका लागि गरेका प्रयासका बारेमा प्रस्तुतिकरण राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *