एआइएनद्धारा सरकारलाई ९ करोड ८० लाख बढीको स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ, १० असार । अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको संघ( एआइएन)ले समाज कल्याण परिषद्संगको समन्वयमा कोभिड -१९ महामारीको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ ९ करोड ८० लाख २६ हजार ६ ५९ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

१३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहभागितामा एआइएनमार्फत संयुक्त रुपमा स्वास्थ्य सामग्री खरीद गरी सहयोग उपलव्ध गराइएको हो ।

यसअघि एआइएनले आफ्ना स्वास्थ्य संस्थाहरुलाई संयुक्त खरीदका लागि आग्रह गरेको थियो । सो आग्रह अनुसार एक्सन एड, केयर नेपाल, सिआरएस, फेयरमेड, जीएनएचए, लुथरन वल्र्ड फेडरेसन, मेरी स्टप्स नेपाल, वान हर्ट वल्र्डवाइट, प्लान इन्टरनेशनल नेपाल, प्राक्टिकल एक्सन, पीएसआई नेपाल, युएमएन, वेल्टट हंगर हेल्फसहितका संस्थाहरुले आर्थिक सहयोग गरेका थिए ।

मन्त्रालयलाई उपलव्ध गराइएको प्याकेज सामग्रीमा अक्सिजन कन्सन्टेटर, अक्सिजन सिलिन्डर, अक्सिमिटर, म्याट्रेससहित आइसयू बेड, फेस मास्क, एन्टीजन किट, पीपीई, सर्जिकल मास्क, ग्लोब्स, सर्जिकल ग्लोब्स, एन ९५ मास्क लगायतका छन् । यस्तै अस्पताल र फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीका लागि पिपिई सेट, गाउन, ह्याण्ड स्यानिटाइजर, फेस सिल्ड, सुज कभर, सर्जिकल क्याप, हस्पिटल वेड, थर्ममिटर, नेबुलाइजर सहितका सामग्रीहरु प्रदान गरिएको छ । यसबाहेक प्राथमिक उपचारका लागि चाहिने औषधि तथा अत्यावश्यक खानेकुरा र रासन समेत मन्त्रालयलाई उपलव्ध गराइएको छ । संयुक्त खरीद प्रक्रियामा केयर नेपाल र प्राविधिक पक्षका लागि वान हर्ट वल्र्डवाइटले समन्वय गरेका थिए ।
मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा समाजकल्याण परिषदका सदस्य सचिव पुस्कर खाती र एआइएनका अध्यक्ष सुशील कोइरालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विज्ञ डा रोशन पोखरेललाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख विशेषज्ञ डा पोखरेलले सामाजिक कार्यका लागि एआईएन मार्फत भएको सहयोग प्रति खुशी व्यक्त गरे । उनले प्राप्त सामग्री आवश्यकता आधारमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई उपलव्ध गराउने बताए ।

परिषदका सदस्यसचिव खातीले कोभिड महामारीपश्चात एआइएनले गरेको मानवीय सहायता र सहयोग प्रति धन्यवाद दिए । उनले कोभिड प्रतिकार्यमा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरुबाट ६० प्रतिशत रकम सहयोग भइरहेको बताए ।  उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सहयोग अहिलेसम्म २ लाख बढी व्यक्तिमाझ पुगेको समेत दावी गरे ।

एआइएनका अध्यक्ष डा सुशील कोइराला र सदस्य सूर्य भट्टले कोभिड प्रतिकार्यका लागि आगामी दिनमा पनि सदस्य संस्थाहरुको तर्फबाट सहयोग जारी रहने बताए । सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी र गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामासहितको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *