पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो
काठमाडौँ, २ असार । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको दिल्ली लगिएको छ । आज दिउसो साढे १२ बजे नेपाल एयरलायन्सको उडानबाट खनाललाई दिल्ली लगिएको हो । उनको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार हुने बताइएको छ । स्वास्थ्यमा समस्या भएपछि खनाललाई गत ३१ जेठमा नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
दिल्ली लैजानु अघि खनालको स्वास्थ्य अवस्था बुझ्न नेकपा एमालेका महासचिव ईश्वर पोखरेल नर्भिक पुगेका थिए । उनले सो क्रममा उपचारको व्यवस्था साथै स्वास्थ्य लाभको कामना गरेको प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
के भएको हो खनाललाई ?
नर्भिक स्रोतका अनुसार खनालको दुबै मिर्गौला फेल भएको छ । ‘अहिलेको समस्या मिर्गौला फेल भएपछि देखिएको स्वास्थ्य समस्या भनेको हो । ज्वरो छ । फोक्सोमा पानी जमेको छ । पिसावमा इन्फेक्सन छ । रगतमा हेमोग्लोविन कम छ । फोक्सोमा समस्या भएका कारण अक्सिजन लेभल मेन्टन हुन सकेको थिएन । त्यसैले अक्सिजन सपोर्टमै उपचार भएको थियो ।स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि हिजोबाट नै दिल्ली लैजाने कुरा भएको थियो । अपोलोका डाक्टरसंगको परामर्शमा त्यसतर्फ लगिएको हो ,’ स्रोतले भन्यो ।
गत फागुनमा अपोलो अस्पतालमा स्वास्थ्य जाँच गराउँन जाँदा मिर्गौला फेल भएको पत्ता लागेको थियो ।
खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक भारत गएका छन् ।
सम्पर्क इमेल : [email protected]