कोभिडबिरुद्धका ‘फ्रन्टलाइनर’लाई प्रदेश सरकारका फरक-फरक भत्ता

काठमाडौँ, २ असार । संघीय सरकारले कोभिडबिरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय गरिसकेको छ । यता प्रदेश सरकारले पनि आफू अन्तरगर्तका त्यस्ता फ्रन्टलाइनरका लागि थप सुविधा उपलव्ध गराउने घोषणा गरेका छन् ।

आइतबार सातवटै प्रदेशहरुले प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०७८ ७९ को बजेट बक्तव्यमा कोभिडबिरुद्धका फ्रन्टलाइनरलाई विशेष प्रोत्साहन दिने उल्लेख गरेका छन् । कतिपयले प्रदेशले यति प्रतिशतले प्रोत्साहन उपलव्ध गराइनेछ भनेर उल्लेख गरेका छन् । कतिपयले प्रतिशत उल्लेख गरेका छैनन् ।

प्रोत्साहनका सन्दर्भमा कुन प्रदेशको कस्तो घोषणा ?

प्रदेश नं १ आर्थिक मामिला मन्त्री टंक आङवुहाङ : कोभिड – १९ रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य राष्ट्रसेवक कर्मचारीहरुलाई अतिरिक्त पारितोषिकको व्यवस्था गरेको छु ।

प्रदेश नं २ आर्थिक मामिला मन्त्री विजय यादव : नेपाल सरकाको समन्वय एवं सहकार्यमा कोरोना महामारीबिरुद्ध अग्रपंक्तिमा खटिने प्रदेश मातहतका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाएको छु ।

बाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल :  कोभिड -१९ महामारीमा उपचार रोकथाम र नियन्त्रणको लागि अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी लगायतका जनशक्तिलाई विशेष प्रोत्साहनको व्यवस्था गरेको छु ।

गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली : कोरोना भाइरस रोगको रोकथाम नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक स्रोत र साधन सुनिश्चित गरेको छु । प्रदेश सरकार अन्तरगर्तका सबै स्वास्थ्य संस्थाको क्षमता विकास पूर्वाधार निर्माण र सेवा प्रवाह सुधारका निम्ति आवश्यक रकम विनियोजन गरेको छु ।

लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्री बैजनाथ चौधरी : कोरोना नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन यसमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी र कर्मचारीको लगनसिलता मेहनत र इमान्दारिताको ठूलो भूमिका रहन्छ । त्यसैले यस विशेष कार्यमा प्रत्यक्ष रुपमा संलग्न हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उत्प्रेरण बढाउन शुरु तलव स्केलको ५० प्रतिशत रकम कोरोना भत्ता उपलव्ध गराउने व्यवस्था मिलाएको छु । तर यस्तो सुविधा कोरोनाको उपचारमा संलग्न हुने कर्मचारीलाई मात्र उपलव्ध गराईनेछ ।

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री गोपाल शर्मा  : कर्णाली प्रदेश सरकारले कोभिड १९ को महामारी व्यवस्थापनका लागि अग्रपंक्तिमा खटिएका चिकित्सक स्वास्थ्यकर्मी सवारी चालक र सफाईकर्मीलार्य महामारी प्रकोप अवधीभर शुरु तलवको १०० प्रतिशत मासिक प्रोत्साहन उपलव्ध गराउने निर्णय गरेको छु ।

सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह  : प्रदेश मातहतका स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि ४ करोड २० लाख रुपैयाँ र स्वास्थ्यकर्मीहरुको बीमाको लागि रु ३० लाख रुपैयाँ विनियोजन गरेको छु । यसबाट अग्रपंक्तिमा रही सेवा प्रवाह गर्ने चिकित्सकहरुको मनोवल उच्च हुने विश्वास लिएको छु ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *