काठमाडौँ महानगरमा ‘भेरोसेल’ लगाउने कार्यक्रम रोकियो

काठमाडौँ, २७ जेठ । काठमाडौँ महानगरपालिकाले तोकिएको समय भन्दा दुई दिन अघि नै कोभिडबिरुद्धको खोप भेरोसेल लगाउने अभियान रोकेको छ । यसअघि महानगरपालिकाले २९ जेठसम्म खोप लगाउने बताएको थियो ।

गत २५ जेठ देखि शुरु भएको यो अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहका लागि खोप दिइने भनिएको थियो । महानगरले २५ चैत देखि पाँच दिनका लागि तोकेको खोप कार्यक्रममा ६४, ६३, ६२ बर्ष गर्दै ६० बर्षसम्मका व्यक्तिलाई हरेक दिनका लागि बर्ष छुट्याएर खोप लगाउने तालिका बनाएको थियो ।

महानगरका स्वास्थ्य प्रमुख हरि कुँवरले पूर्व निर्धारित तालिका भन्दा दुई दिन अगावै नै खोप कार्यक्रम स्थगित भएको बताए । उनले भने, ‘हाम्रोमा आजसम्म मात्रै खोप चल्यो, अब भोलि (शुक्रबार)बाट खोप लगाउने कार्यक्रम स्थगित गरिएको छ ।’

महानगरले खोप रोक्नुको कारण खोप अभाव भएको बताएको छ । ‘हामीकहाँ ६० देखि ६४ बर्ष उमेरका ६५ हजार बढी व्यक्तिहरु हुनुहुन्थ्यो । स्वास्थ्य कार्यालयले ४५ हजारसम्म उपलव्ध गराउँछु भनेको थियो । तर आज स्वास्थ्य कार्यालय प्रमुखले खोप उपलव्ध गराउन सकिदैन भनेर एसएमएस पठाउनु भयो । दिनहुँ स्वास्थ्य कार्यालयबाट उपलव्ध गराउने खोप रोकेपछि हामीले अभियान बीचमै रोक्नु पर्‍यो,’उनले बिहीबारसम्म २८ हजार हाराहारीमा खोप लगाएको बताए ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले स्वास्थ्य सेवा विभागसंग जिल्लाका लागि १ लाख ६६ हजार डोज खोप माग गरेकोमा जम्म ६४ हजार मात्रै खोप प्राप्त भएपछि कार्यक्रम निर्धारित तालिका अनुसार हुन नसकेको बताए ।

‘अहिलेसम्म मेरो जानकारीमा महानगरभित्र खोप कार्यक्रम रोकियो भन्ने जानकारी पाएको छु । अन्तको खबर आएको छैन् । खोप नै कम भएपछि अभियान रोकिनुको विकल्प देखिएन,’ उनले भने । खड्काले बुधबारसम्म जिल्लाभर ३३ हजार बढीले खोप लगाएको बताए ।

सरकारले पहिला ६० देखि ६४ बर्ष उमेर समूहका लागि भेरोसेल खोप दिने भनेको थियो । तर अन्तिम समयमा आएर उपत्यका बाहिर ६२ देखि ६४ बर्ष उमेर समूहका लागि मात्रै दिइने बताएको थियो । तर काठमाडौँ उपत्यकामा भने ६० देखि ६४ बर्ष उमेर समूहकाले पाउने बताएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *