स्वास्थ्यका निवर्तमान मन्त्री त्रिपाठी र राज्यमन्त्री रावतको विदाई

काठमाडौँ, २३ जेठ ।स्वास्थ्य मन्त्रालयले शुक्रबार पदमुक्त भएका मन्त्री हृदयेश त्रिपाठी र राज्यमन्त्री नवराज रावतलाई विदाई गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले उनीहरुलाई फुलमाला र मायाको चिनो प्रदान गरी विदाई गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री त्रिपाठीले स्वास्थ्य मन्त्रालयमा विताएका साढे पाँच महिनामे अवधीको चर्चा गरेका थिए । कोरोना नियन्त्रणका लागि चालेको कदम र खोपको उपलव्धताका लागि गरेका प्रयासबारे जानकारी दिएका थिए । उनले कोरोना महामारीको कठिन समयमा स्वास्थ्यको जिम्मेवारी लिएर त्यसलाई सामान्यकरण गर्ने आफूले कोशिश गरेको बताए । सो क्रममा उनले नयाँ मन्त्री तामाङलाई बिचौलियासंग जोगिएर काम गर्न सुझाव दिएका थिए ।

‘स्वास्थ्यमा बिचौलियाले धेरै नै प्रभाव पार्न खोज्ने गरेको देखियो । यसमा सतर्क रहनुहोला । आफ्नो सचिवालयलाई लुज नछाडिदिनुहोला,’ त्रिपाठीले भने । सो अवसरमा उनले भारतबाट रोकिएको खोप आउने प्रक्रियामा अघि बढेको सुनाए ।

राज्यमन्त्री नवराज रावतले स्वास्थ्यमा विताएका डेढवर्षे अवधी र गरेका कामको बारेमा चर्चा गरे ।

मन्त्री तामाङले आफ्नो प्राथमिकता कोरोना नियन्त्रणमा रहेको भन्दै खोपको उपलव्ध गराउने आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले आफू आउनु अघि भएका खोप खरीदका प्रक्रियालाई निरन्तरता दिने बताए ।

त्रिपाठी सामान्य प्रशासन मन्त्रालयबाट गत १० पुसमा स्वास्थ्यमा सरुवा भएका थिए । राज्यमन्त्री रावत भने २०७६ मंसिर ४ मा स्वास्थ्य राज्यमन्त्रीको रुपमा नियुक्त भएका थिए । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्दा स्वास्थ्यका मन्त्री र राज्यमन्त्री पदमुक्त भएका हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *