महामारी रोकथाममा स्वयंसेवा गर्दै नेपाल स्काउट

काठमाडौँ, १५ जेठ ।  नेपाल स्काउटले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षात्मक क्रियाकलापलगायत विभिन्न सामाजिक गतिविधिलाई अभियानकै रुपमा जारी राखेको छ।

गतवर्ष महामारी शुरु भएपछि स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन शुरु गरेको तथा देशव्यापीरुपमा एसएमएस अभियानलाई अहिले परिमामर्जनसहित निरन्तरता दिएको छ।

यस अभियानमा ४०० स्काउट स्वयंसेवक प्रत्येक दिन कोरोना सङ्क्रमणबाट बच्ने उपाय सिकाउँदै सक्रियरुपमा लागिरहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए।

स्काउटले खोप केन्द्रमा सहजीकरण गर्ने क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका २१ खोप केन्द्रमा १२५ स्काउट स्वयंसेवी परिचालन गरेको छ भने चिकित्सकसँग बिरामीलाई सम्पर्क गराउन प्रदेश नं. १, बाग्मती र लुम्बिनी प्रदेशमा अनलाइन स्वास्थ्य परामर्श सेवा सञ्चालन गरेको छ। परामर्शबाट हालसम्म ५९ जना चिकित्सकले करीब ५०० भन्दा बढी बिरामीलाई सेवा दिएका छन्।

यसैगरी स्काउटले कोभिड भन्दा बाहेकका अन्य बिरामीका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। यो सेवामा स्काउटको वागमती प्रदेश समिति सदस्य अजित लामा, प्रदेश समिति सदस्य एवं पर्वतारोही प्रकाशराज पाण्डे र ललितपुर महानगर समिति सदस्य विकेन्द्र महर्जन परिचालित रहेका छन्।

यस्तै स्वास्थ्यकर्मीलाई सम्मान र प्रोत्साहनका लागि ‘स्यालुट’ कार्यक्रम, विभिन्न स्थानमा पशुपक्षीलाई आहार वितरण, हेल्प डेस्कको स्थापना, शव व्यवस्थापन, विद्यालयमा मास्क वितरण, हात धुने स्थल स्थापना र सञ्चालन गरिएको संयोजक भण्डारीले जानकारी दिए।

सङ्क्रमण फैलनबाट रोक्न ७५ स्थानमा सार्वजनिक हात धुने स्थानको स्थापना गरिएको थियो। सो कार्यमा स्काउटका छ सय २५ स्काउट स्वयंसेवी खटिएका थिए भने ४९ हजार ४३४ नागरिकले प्रत्यक्ष लाभ लिएका थिए। रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *