निषेधाज्ञाको पालना नगर्नेलाई पाँच लाखसम्म जरिवाना र एक बर्षसम्मको कैद !

काठमाडौं, ११ जेठ । कोभिड -१९ को महामारी नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाको पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ ।

काठमाडौ जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय हुन सक्ने बताएको हो ।

प्रशासनले जारी गरेको सूचनामा अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत जनाइएको छ । यसै गरि अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ जरिवाना हुने बताइएको छ । अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनले जनाएको छ ।

यसै गरि त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने छन् । अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनाको लागि सम्म बन्द गर्न आदेश दिन सक्ने जारी सूचनामा उल्लेख छ ।

यसैबीच उपत्यकामा जारी लकडाउनलाई थप कडाई गर्न आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । कोभिड संक्रमणदरमा अपेक्षित सुधार नआएपछि थप कडाई गर्ने योजना बनाइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *