रामपुरले आफ्ना नगरबासीका लागि आफै खोप किन्ने, स्वास्थ्यसँग माग्यो अनुमति

काठमाडौँ, ९ जेठ । पाल्पाको रामपुर नगरपालिकाले आफ्ना नगरवासीका लागि कोरोनाविरुद्धको खोप आफैल किन्ने तयारी गरेको छ । नगरपालिकाले आफ्ना नगरका बासिन्दाहरुलाई ५० हजार डोज खोप किन्नका लागि स्वास्थ्य मन्त्रालयसंग अनुमति मागेको छ ।

आइतबार नगरपालिकाका प्रमुख रमण थापा, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, पत्रकार तथा कलाकार अमृत अधिकारीसहितको टोलीले स्वास्थ्य मन्त्री हृदयेष त्रिपाठीलाई भेटेर अनुमति मागेको हो ।

नगरपालिकाको आग्रहलाई सकारात्मक रुपमा लिँदै सरकारको तर्फबाट पनि केही आर्थिक तथा प्राविधिक सहयोग दिने मन्त्री त्रिपाठीले आश्वासन दिएको नगरप्रमुख थापाले जानकारी दिए ।

संघीय सरकारले खोप किनेर ल्याउन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला रामपुर नगरपालिकाको यो प्रयासलाई अनुकरणीय मानिएको छ ।

रामपुर नगरपालिकाको प्रयास उदाहरणीय रहेको र किनेर ल्याउन तथा भण्डारणको व्यवस्था गर्न सकेमा त्यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने विश्वास दिलाउदै मन्त्री त्रिपाठीले खुशी व्यक्त गरेका थिए ।

नगरप्रमुख थापाले आफुले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा र विकास बजेट र जनप्रतिनिधिहरुको भत्ता कटाएर ५० हजार खोप किन्ने योजना नगरपालिकाले बनाएको मन्त्री त्रिपाठीलाई जानकारी दिएका थिए ।

भारतका दुईवटा कम्पनीसंग खोप किनेर ल्याउनका लागि नगरपालिकाले विभिन्न सम्पर्क सुत्र मार्फत् प्रयास गरिरहेको नगरप्रमुख थापाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *