उपत्यकाका १३ वटा अस्पतालमा कोभिड संक्रमितका लागि ओपिडी सेवा

काठमाडौँ, ३ जेठ । काठमाडौंका सरकारी अस्पतालमा कोभिड -१९ ओपिडी सुरु भएको छ । कोभिड -१९ पोजेटिभ भएका संक्रमितको अवस्था बुझ्न र आवश्यक उपचार व्यवस्था मिलाउन ओपिडी सुरु गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त ओपिडीमा कोभिड पोजेटिभ भएका व्यक्तिले आफ्नो अवस्था हेर्न सक्ने बताए । उनले भने, ‘यो ओपिडीमा कोभिड संक्रमितहरुले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जाँच गर्नेछन् । जाँच गर्दा सामान्य छ भने भएमा घरमा पठाउने, अक्सिजन चाहिए ओपीडीमै दिने दिने र हेर्ने, गम्भीर अवस्था देखिएमा अस्पतालमै भर्ना गर्ने व्यवस्था मिलाइने छ ।’

उनले यो व्यवस्थाले संक्रमितहरुलाई ढुक्क हुने र अस्पताल व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए ।

‘अहिले कतिपय संक्रमितहरु अस्पतालमा बेड पाइदैन भनेर घरमै तनावग्रस्त अवस्था रहेका छन् । कतिपय संक्रमितहरु सामान्य अवस्था हुँदा हुँदै पनि डरले अस्पतालमै गएर बसिरहेका छन् । अव ओपिडी सुरु भएपछि संक्रमितको रिपोर्ट हेरिन्छ । आवश्यक परामर्श दिइन्छ । घरमा बस्नु पर्ने कि ? अक्सिजन लिनु पर्ने कि ? भर्ना हुनु पर्ने कि ? घरमा बस्दा के गर्ने ? कस्तो अवस्थामा अस्पताल आउने ? यी सबै परामर्श पछि संक्रमितलाई थप सहज हुने भयो,’ डा गौतमले भने ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले ठूला सरकारी अस्पताल र निजी अस्पताल गरी कुल १३ वटा अस्पतालमा अहिले ओपिडी सहितको आकस्मिक सेवा शुरु भएको बताए । उनले कुनै पनि संक्रमितले अस्पतालमा गएर आफ्नो अवस्थाको बारेमा जानकारी लिन सक्ने जानकारी दिए ।

कुन कुन अस्पतालमा छ यी सेवाहरु ?
मन्त्रालयले वीर अस्पताल र ट्रमा सेन्टर, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनीमा यी सेवा उपलव्ध रहेको बताएको छ । यस्तै पाटन अस्पताल, भक्तपुर अस्पताल, नेपाल प्रहरी अस्पताल, मनमोहन अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौँ मेडिकल कलेज सिनामंगल, किष्ट अस्पताल ग्वार्को र धुलिखेल अस्पताल काभ्रेमा यो सेवा शुरु भएको जनाएको छ । यी अस्पतालहरुले वरपरका अरु साना र सहायक अस्पतालहरुलाई थप सहयोग चाहिएको खण्डमा समेत समन्वय र सहयोग गर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *