चीनको सहयोगमा प्राप्त १८ हजार अक्सिजन सिलिन्डर तातोपानी नाका आइपुग्यो
काठमाडौँ, २ जेठ । चीन सरकारले नेपाललाई उपलव्ध गराउने भनेको २० हजार वटा अक्सिजन सिलिन्डरमध्ये १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको छ । सो सिलिन्डरलाई भन्सार प्रक्रिया मिलाएर छिटो काठमाडौ ल्याउने तयारी गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले १८ हजारवटा सिलिन्डर तातोपानी नाकामा आइसकेको पुष्टि गरे । उनले छिटो भन्सार प्रक्रिया टुग्याएर काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिए ।
कोरोना संक्रमण तिब्र गतिमा फैलिएपछि चीनले नेपाललाई २० हजार वटा अक्सिजन सिलिन्डर सहित अन्य स्वास्थ्य उपचारमा प्रयोग हुने उपकरण उपलव्ध गराउने बताएको थियो ।
सोही अनुसार गत साता नेपाल बायुसेवा निगमको वाइडबडी विमानले बेइजि ङबाट ४०० वटा सिलिन्डर, १७० भन्दा बढी अक्सिजन कन्सनटेटर काठमाडौँ ल्याएको थियो । बाँकी सिलिन्डर लिनका लागि गएराती साढे ११ बजे वाइडवडी पुन बेइजि ङ प्रस्थान गरेको छ । सो विमान आजै काठमाडौँ आइपुग्ने भएको छ ।
‘१८ हजार वटा सिलिन्डर स्थलमार्गबाट आउँदै छ । बाँकी २ हजार हवाई मार्गबाट आउने हो । त्यसमध्ये केही आइसक्यो र केही आउँदै छ,’ पाण्डेले भने ।
यसअघि हिजो मात्रै वाइडवडी विमानले ओमानबाट ५६० वटा अक्सिजन सिलिन्डर काठमाडौँ ल्याएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




