बंगलादेशबाट ३२ हजार भाइल रेम्डेसिभिर आज बेलुका आइपुग्ने

काठमाडौँ, २८ बैशाख । कोभिडबिरुद्ध प्रयोग गरिदै आएको औषधि रेम्डेसिभिरको ३२ हजार भाइल इन्जेक्सन बंगलादेशबाट आज बेलुकासम्म काठमाडौँ आइपुग्ने भएको छ । नेपालबाट जाने चार्टर विमानले बेलुकासम्म सो परिमाणको रेम्डेसिभिर ल्याउने भएको हो ।

बंगलादेश सरकारले अनुदानमा उपलव्ध गराएको १० हजार र आयान हेल्थ केयर प्रालिको २२ हजार गरी कुल ३२ हजार भाइल रेम्डेसिभिर लिन हिमायल एयरलाइन्सको विमान दिउसो १ : १५ बजे बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दैछ । सो विमान आजै बेलुका ७ :१० बजे काठमाडौँ आइपुग्ने तालिका छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई बेलुकासम्म ३२ हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने बताए । उनले भने, ‘हिमालय एयरको चार्टर विमान दिउसो ढाका जाने र बेलुका फर्कने कार्यक्रम छ । यो पटक ३२ हजार भाइल रेम्डेसिभिर आउँदैछ । यो औषधि आएपछि अहिले बजारमा देखिएको अभाव तत्कालका लागि हल हुने देखिन्छ ।’

कोभिडको उपचारमा सम्लग्न अधिकांश चिकित्सकहरुले यो पटकको भेरियन्टलाई रेम्डेसिभिरले खासै काम नगरेको बताउँदै आएका छन् । तर विकल्पको रुपमा अरु औषधि नभएका कारण यो औषधि रिकमेण्ड गर्न बाध्य भएको सुनाएका छन् ।

संक्रमितको संख्या बढ्दै गएको र भारतले रेम्डेसिभिर निर्यातमा प्रतिवन्ध लगाएको अवस्थाले नेपालमा रेम्डेसिभिरको माग अत्यधिक छ । माग बढेका कारण यो औषधिको कालोबजारी समेत हुने गरेको समाचारहरु सार्वजनिक भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *