स्वास्थ्य मन्त्रालयले ग्यास उद्योगलाई भन्यो, ‘अस्पतालको ग्यास भर्नु अघि हाम्रो सिफारिस हेर्नु’

काठमाडौँ, २५ बैशाख । स्वास्थ्य मन्त्रालयले आफ्नो सिफारिसविना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूलाई अक्सिजन ग्यास नभर्न ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले शनिबार ग्यास उद्योगलाई सम्वोधन गरी जारी गरेको सूचनामा अस्पतालहरुका लागि अक्सिजन भर्नु अघि मन्त्रालयको सिफारिस लिनु भनेको छ । उसले त्यसको खिलाप काम गर्ने उद्योगलाई सरकारले कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

पछिल्लो एक दुई दिन यता उपत्यकाका अस्पतालहरुमा बिरामीका लागि प्रयोग हुने अक्सिजन ग्यासको अभाव भएको छ । अक्सिजन ग्यास अभाव भएको भन्दै कतिपय अस्पतालहरुले कोभिडको बिरामीको भर्ना नलिने र लिइसकेकाहरुलाई पनि फिर्ता गर्न थालेका छन् ।

स्वास्थ्य आपतकालीन तथा विपत व्यवस्थापन इकाईका प्रमुख डा गुणराज लोहनीले अस्पतालमा देखिएको ग्यास अभाव सम्वन्धी समस्या समाधान गर्न सिफारिसको व्यवस्था गरिएको बताए ।  उनले भने, ‘अहिले विशम परिस्थिति छ । अस्पतालहरुले अक्सिजन ग्यास पाइएन भनेका छन् । ग्याँस सप्लायर्सले अक्सिजन अभाव छैन् पनि भनेका छन् । यहाँ कहाँ निर गडबडी भइरहेको छ, त्यो पनि हेर्नुपर्ने छ र कोभिडका उपचार गराईरहेका अस्पतालहरुलाई पनि आवश्यकता अनुसार ग्यास उपलव्ध गराउनु पर्ने छ । त्यसैले हामीले ग्याँस उद्योगलाई मन्त्रालयको सिफारिस विना नदिनु भनेका हौँ ।’

डा. लोहनीले अब अस्पतालहरुलाई बिरामी संख्याको आधारमा सिफारिस पत्र बनाइने र सोही अनुसार सबै बिरामीको उपचार गर्न पुग्ने गरि ग्याँस उपलव्ध हुने स्पष्ट पारे ।

उनले अस्पतालहरुले बिरामीको बिबरण र चाहिएको अक्सिजन परिमाणसहितको निवेदन लिएर मन्त्रालयमा आउनुपर्ने र तत्कालै सिफारिस लिएर जान सक्ने बताए ।

उनले मन्त्रालयले सो काम आजै देखि थालिसकेको भन्दै भोलिबाट उपचारका लागि अक्सिजन ग्यास अभाव नहुने ठोकुवा गरे ।

उपत्यकाका केही निजी अस्पतालहरुले अक्सिजन ग्याँसको अभावमा उपचार हुन नसक्ने भन्दै कोभिडका बिरामीको भर्ना लिन छाडेका तथा कोटा कटौती गरेका थिए । डा. लोहनीले ढुक्क भएर उपचारमा लाग्न अस्पताल तथा चिकित्सकहरुलाई अनुरोध गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *