कोरोना संक्रमित पूर्व रानी कोमलको स्वास्थ्यमा थप जटिलता, आइसीयूमा सारियो

काठमाडौँ, १६ बैशाख । कोरोना संक्रमण पछि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा थप जटिलता उत्पन्न भएको छ ।

उनलाई बुधबार बेलुका देखि आइसीयूमा सारिएको छ । अस्पताल स्रोतका अनुसार उनलाई अहिले हाइ फ्लो अक्सिजन दिइएको छ । हाई फ्लो अक्सिजन प्रतिमिनट १५ लिटर भन्दा बढी हुन्छ ।

भारतको कुम्भमेलामा स्नान गर्न पुगेर स्वदेश फर्केपछि पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई गत ७ बैशाखमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य समस्या देखिन थालेपछि ११ बैशाखमा पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल र उनीहरुकी छोरी प्रेरणा नर्भिक अस्पताल भर्ना भएका थिए ।

‘अस्पताल पुगेपछि शाह दम्पत्तीले सामान्य रुपमा अक्सिजन लिनु परेको थियो । तर बुधबारबाट अक्सिजन लेभलमा थप समस्या पैदा भयो । त्यसैले आइसीयूमा राख्यौँ र हाइफ्लो दिन थाल्यौं,’नर्भिक अस्पतालका चिकित्सकले भने ।

पूर्वराजाको अवस्था भने अहिले पनि स्थिर नै छ । उनलाई थप समस्या देखिएको छैन् । छोरी प्रेरणाको स्वास्थ्य अवस्था भने सुधारोन्मुख देखिएको छ ।

मुटु तथा मधुमेहको समस्यामा भएका कारण शाह दम्पत्तीमा कोरोनाको थप जटिलता आउन सक्ने भन्दै होम आइसोलेसनमा बसेको केही दिनमै अस्पताल लगिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *