आज र भोली पाँच बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोलि ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउदै छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तरगत ती उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।

तर यसपटक कार्यक्रम सुरु हुनै लाग्दा देशमा कोरोना संक्रमणको नयाँ लहर देखा परेको छ । स्वास्थ्य मन्त्रालयले बालबालिकालाई भिटामिन ए खुवाउन लैजाँदा कोभिड १९ को जोखिमबाट बच्नका लागि सुरक्षात्मक उपाय अपनाउन भनेको छ ।

उसले वितरण केन्द्रमा भिडभाड नगर्ने, एक अर्को व्यक्तिबीच दुई मिटरको भौतिक दुरी कामय गर्ने, बालबालिका र तिनलाई लैजाने अभिभावकले मास्कको सहि तरिकाले प्रयोग गर्ने, सावुन पानीले पटक पटक हात धुने वा स्यानिटाइजरले सफा गर्ने भनेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको पोषण शाखाले यसपटक पनि पाँच बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि संगै बालभिटा वितरण र पाखुराको नाप लिईने योजना रहेको बताएको छ ।

शाखाका प्रमुख केदार पराजुलीले राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तगर्त आगामी ६ र ७ बैशाखमा पाँच बर्ष मुनिका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको बताए ।

छ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक बर्ष देखि पाँच बर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरेको छ । सोही बेला बालबालिकाको पाखुराको नाप लिइने र त्यहिबेला १५ बहुसुक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाइने कार्यक्रम छ ।उनले भने ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको हो ।

यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।

अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *