कर्णाली, पोखरा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि ३-३ जनाको नाम सिफारिस

काठमाडौँ, १२ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि तीन तीन जनाको नाम सिफारिस भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा गठित नाम सिफारिस समितिले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपकुलपति छनौटका लागि तीन तीन जनाको नाम सिफारिस गरेको हो ।

स्रोतका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि कार्यवहाक उपकुलपति डा मंगल रावलको नाम एक नम्बरमा परेको छ । त्यहाँकै डिन डा रेशम रानाको दोस्रो नम्बर र अर्का एक जनाको नाम तेस्रो नम्बरमा परेको बताइएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा डुक बहादुर (डीबी) क्षेत्रीको नाम पहिलो नम्बरमा परेको छ । यस्तै प्राडा धु्रब अधिकारी र प्राडा श्रीकृष्ण श्रेष्ठको नाम क्रमश दोस्रो र तेस्रो नम्बरमा परेको छ ।

यता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि समितिले पहिलो नम्बरमा कार्यवहाक उपकुलपति प्राडा राजेशनाथ गंगोलको नाम सिफारिस गरेको छ । दोस्रो नम्बरमा प्रतिष्ठानकै रेडियोलोजिष्ट प्राडा दानबहादुर कार्की र एक जनाको नाम तेस्रो नम्बरमा सिफारिस भएको छ ।

समितिले ८ चैतमा तीनवटै प्रतिष्ठानका लागि निवेदन परेका मध्येबाट सर्टलिष्ट छनौट गरी सार्वजनिक गरेको थियो । त्यसबेला २१ जनाले निवेदन दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १३ जना, १२ – १२ जनाले निवेदन दिएको पोखरा र पाटनबाट ९ -९ जनाको नाम सार्वजनिक भएको थियो ।

समितिले पठाएको तीन तीन जनाको नाममध्येबाट कुलपति समेत रहेका प्रधानमन्त्रीले एक एक जनालाई उपकुलपतिको रुपमा नियुक्त गर्ने प्रावधान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *