सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गर्ने कार्यलाई अगाडी बढाउँदै सरकार

काठमाडौँ, १० चैत । सरकारले रोग नियन्त्रण केन्द्र (सेन्टर फर डिजिज कन्ट्रोल – सीडीसी) स्थापना गर्ने कार्यलाई अगाडी बढाएको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुरुप सर्ने र नसर्ने रोगको समग्र व्यवस्थापन गर्न सीडीसी स्थापना गर्ने कार्यलाई अघि बढाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले रोग नियन्त्रण केन्द्र सम्वन्धी विधियेक तयार गर्दैछ ।

‘सम्भवत अबको एक साता दश दिनमा यसको अवधारणापत्र तयार भईसक्छ । त्यसलाई मन्त्रिपरिषद्बाट पास भएपछि यसलाई थप अगाडी बढाईन्छ । यहि आर्थिक बर्षको अन्त्य सम्ममा सीडीसी स्थापना गर्ने गरी काम अघि बढाईएको छ,’ मन्त्रालयका कानून उपसचिव मानवहादुर बस्नेतले भने ।

उनले यो सीडीसी बनिसकेपछि सबै खाले रोगको रोगथाम र नियन्त्रणका लागि सहज बन्ने विश्वास व्यक्त गरे ।

‘सीडीसी भनेर अहिले अमेरिकाको संस्थालाई बुझिन्छ । अब हामीले पनि सबै खाले रोग सम्बन्धी अनुसन्धान, रोग नियन्त्रण, रोग बारेको गाइडलाइन, उपचार सम्वन्धी निर्देशन आदि दिने एउटा उच्चस्तरीय निकाय बनाउन खोजेका हौं,’ बस्नेतले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रमको बुँदा नं ५७ मा रोगको रोगथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिनेछ भनिएको छ ।

सोही बुदामा औषधि, औजार तथा उपकरण समेतको गुणस्तर मापन तथा नियमन गर्न फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनको स्थापना गरिने उल्लेख छ ।

यस्तै स्वास्थ्य संस्था र सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ भनिएको छ । सीडीसी बाहेकका अरु दुईवटा निकाय स्थापना गर्ने गरी समेत मन्त्रालयले काम अघि बढाईसकेको बस्नेतले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *