‘कोभ्याक्सिन खोप दुई साता भित्र आउँछ’

काठमाडौँ, ८ चैत ।  औषधि व्यवस्था विभागले शुक्रबार प्रयोग अनुमति दिएको कोरोनाबिरुद्धको खोप कोभ्याक्सिन अब नेपालमा निजी क्षेत्रले ल्याउने भएको छ । भारत बायोन्टेकको नेपालस्थित आधिकारिक एजेन्ट इमराल्ड फर्मा काठमाडौँले खोप ल्याउन लागेको हो ।

इमराल्ड फर्मामा सञ्चालक एवं आयातकर्ता विशाल पण्डितले अवको दुई साता भित्र कोभ्याक्सिन आउने बताए । उनले खोप ल्याउनु अघि गर्नुपर्ने सरकारी अन्य प्रक्रिया बाँकी रहेकाले दुई साता लाग्नसक्ने बताए ।

‘कोभ्याक्सिनले आकस्मिक प्रयोगको लागि अनुमति त पायो । तर अब मन्त्रालय तिरको काम बाँकी नै छ । कम्पनीबाट रेट लिएर मन्त्रालयमा पेश गर्नुपर्नेछ । त्यसपछि त्यहाँ पनि बोर्ड बैठक बस्ला, रेट निर्धारण गर्ला, ल्याएको खोप सरकारले खरीद गर्ने कि ? निजी क्षेत्रले आफै प्रयोग गर्ने त्यो समेत जानकारी गराउँला । त्यसपछि मात्रै हामीले खोप अर्डर गर्ने हो । यो साता कागजी प्रक्रिया सकियो भने अर्को साता त खोप आईहाल्छ,’ पण्डितले भने ।

नेपालमा अहिलेसम्म अक्सफोर्ड एस्टाजेनेकाले विकास गरी सेरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादन रहेको कोभिसिल्ड खोप प्रयोग भएको छ । भारत सरकारको अनुदान, नेपाल सरकारको खरीद र कोभ्याक्स सुविधा मार्फत अहिलेसम्म २३ लाख ४८ हजार डोज सो खोप नेपाल भित्रिएको छ । करीब साढे १६ लाख नेपालीले सो खोपको पहिलो मात्रा लगाईसकेका छन् ।

औषधि व्यवस्था विभागले शुरुमा कोभिसिल्डलाई प्रयोग अनुमति दिएको थियो । अहिले त्यसबाहेक चीनमा बनेको खोप भेरोसेल र भारतमा बनेको कोभ्याक्सिनले पनि अनुमति पाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *