बा-आमाको स्मृतिमा छोराको काम, प्रशोधित शुद्ध पिउने पानीका लागि ट्रमा सेन्टरमा ‘आरओ’ जडान

काठमाडौँ, ५ चैत ।  उपकार सेवा नेपाल नामक संस्थाको समन्वयमा राष्ट्रिय ट्रमा सेन्टरमा प्रशोधित शुद्ध पिउने पानीको आरओ जडान भएको छ । आफ्ना दिवंगत बुबा घनश्याम दास र आमा सरस्वती देवी अग्रवालको नाममा छो रा अनिल कुमार अग्रवालले आरओ जडान गरिदिएका हुन् ।

पानी खुवाउनुजस्तो पुन्य काम केही नहुने भन्ने बुबाको अर्तिलाई शिरोधार्य गर्दै आफूले विगत देखि नै सार्वजनिक स्थानमा पानी खुवाउने कार्य गरिरहेको सुनाउँदै अग्रवालले पछिल्लो पटक विरामी, तिनका आफन्त र विरामीको सेवामा खटिने स्वास्थ्यकर्मीलाई पानी खुवाउन ट्रमामा आरओको जडान गरिएको बताए ।

उनले जडान गरिदिएको आरओले दुई घण्टामा २ हजार ५ सय लिटर शुद्ध प्रशोधित पानी तयार गर्दछ । त्यसअघि ट्रमाले प्रतिमहिना २ देखि ३ लाख रुपैयाँको पानी किन्ने गर्दथ्यो ।

विहीबार आयोजिक कार्यक्रममा अग्रवालले अस्पतालमा छिरेका जो सुकै व्यक्तिले पानी किनेर पिउन नपर्ने विश्वास व्यक्त गरे । उनले चाँडै नै अस्पताललाई ह्वील चेयर र डायलासिस मेसिन सहयोग गर्ने बताए । यस्तै उनले ट्रमामा भर्ना भएका बिरामीलाई बेलुकाको खाना खुवाउने उद्घोष् गरे ।
ट्रमा गत असार देखि समाजसेवी तुलसी कुमार श्रेष्ठले विरामी र तिनका आफन्तलाई निशुल्क खाना खुवाउँदै आएका छन् ।

कार्यक्रममा सहभागी अर्की समाजसेवी अञ्जु श्रेष्ठले एक थान भेन्टिलेटर सहयोग गरेकी छन् ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले सो भेन्टिलेटरमा राखेर उपचार गर्दा पैसा नलिने घोषणा गरे । उनले ट्रमा सेन्टरलाई देशकै नमूना अस्पतालमा परिणत गर्ने गरी काम अघि बढाएको भन्दै त्यसका लागि सहयोगी मनहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

ट्रमा सेन्टर फ्रेण्डस् अफ ट्रमा भन्ने रणनीतिसहित अघि बढिरहेको भन्दै उनले सहयोगी दाताहरुलाई धन्यवाद दिए । उनले अहिले इमरजेन्सीमै अप्रेसन सेन्टर, भेन्टिलेटर सहितको आईसीयू, मोवाईल आईसीयू जस्ता अत्याधुनिक सेवा शुरु गरेको बताए ।

कार्यक्रममा दाताहरुलाई अस्पतालले सम्मान गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *