भारतसंग सीमा जोडिएका नाकाका हेल्थ डेस्कलाई पुन: सक्रिय बनाईँदै

काठमाडौँ, ४ चैत । सरकारले भारततर्फका सिमा नाकामा रहेका हेल्थ डेस्कलाई पुन: सक्रिय बनाउने भएको छ । भारतमा कोभिड – १९ को संक्रमण बढ्दो क्रममा देखिएपछि नेपालले सीमा नाकामा रहेका हेल्थ डेस्कलाई पुन : सक्रिय बनाउने भएको हो ।

अहिले भारत तर्फका १४ वटा नाकामा हेल्थ डेस्क राखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले पछिल्ला दिनमा भारतमा देखिएको संक्रमणदरलाई बिचार गरी हेल्थ डेस्कलाई थप सक्रिय बनाउन खोजिएको बताए । उनले भारतबाट आउनेहरुको विवरण लिने, लक्षण देखिएकाहरुको एन्टीजेन टेष्ट गर्ने, क्वारेन्टिनलाई व्यवस्थित गर्ने लगायतका निर्देशन दिन लागेको बताए ।

खासगरी सुदूरपश्चिमको गड्डाचौकी, गौरीफन्टा, नेपालगञ्जको रुपौडिया, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको सुनौली, वीरगञ्जको रक्सोल, विराटनगरको जोगवनी, झापाको मेची भन्सार लगायतका नाकाहरुमा विशेष सतर्कताका साथ रहन भनिएको छ ।

यस्तै स्थानीय तहलाई क्वारेन्टिनलाई व्यवस्थित गर्न, कन्ट्याक्ट ट्रेसिङलाई थप व्यवस्थित गर्न तथा होम क्वारेन्टिनलाई समेत व्यवस्थित गर्न पनि निर्देशन दिने निर्णय भएको डा पौडेलले सुनाए ।

झण्डै एक बर्ष कोरोना महामारीमा परेको नेपालमा पछिल्ला केही महिनामा संक्रमण दर नियन्त्रणउन्मुख देखिएको छ । तर भारतका विभिन्न राज्यमा संक्रमणले तिब्रता पाएपछि नेपालमा समेत जोखिम देखिन सक्ने भन्दै त्यसको तयारी थाल्न खोजिएको हो ।

भारतमा महाराष्ट्र, मध्यप्रदेशका कतिपय नगरहरुमा संक्रमण बढदै गएको छ । कतिपय स्थानमा त्यहाँको स्थानीय सरकारले लकडाउन समेत लगाउन थालेको छ । नेपालमा भने अहिलेसम्म भारतमा देखिएको जस्तो प्रभाव देखिईसकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *