तत्कालका लागि रोकिने भयो कोभिडबिरुद्धको खोप अभियान

काठमाडौँ, ३ चैत । कोभिड -१९ बिरुद्धको खोप अभियान रोकिने भएको छ । आवश्यकता अनुसारको खोप उपलव्ध नभएपछि अभियान रोकिने भएको हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ चैत (भोलि) देखि ६० बर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने योजना बनाएको थियो ।  त्यसको केही दिनमै ५५ बर्ष माथिकालाई खोप शुरु गर्ने भनेको थियो । तर, खोप आउने ठेगान नभएपछि त्यो सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

‘अग्रिम भुक्तानी गरी सम्झौँता गरेको खोप पनि ५० प्रतिशत मात्रै आयो, कोभ्याक्स सुविधा अन्तरगतको खोप पनि सोचे अनुरुप आएन । अनुदानको कुरा पनि सेलायो । खोप आउने सुनिश्चित नभईकन अभियान चलाएर के गर्नु ? त्यसैले स्थगित गर्नु परेको हो । तर यसबारेको औपचारिक निर्णय भोलि मन्त्रालयमा बस्ने उच्चस्तरीय बैठकले गर्ने छ,’ मन्त्रालय स्रोतले भन्यो ।

सरकारले गत २३ फागुन देखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान शुरु गरेको थियो । यो अभियानमा ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप उपलव्ध गराईएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबेला खोप लगाई सो अभियानको शुभारम्भ गरेका थिए । सो अभियानको आज अन्तिम दिनसम्म आईपुग्दा १६ लाख ४४ हजार ५५८ जनाले कोभिड – १९ बिरुद्धको खोपको पहिलो मात्रा लिएका छन् ।

‘१० लाख अनुदान, १० लाख खरीदको र ३ लाख ४८ हजार कोभ्याक्स सुविधा अन्तरगतको गरी कुल २३ लाख ४८ हजार खोप नेपालसंग थियो । १६ लाख ४४ हजार ५५८ जनाले खोप लगाईसकेको र केही खेरसमेत जाँने हुनाले अब बाँकी ७ लाख डोज मात्रै होला । त्यो खोप पहिलो मात्रा लगाएकाहरुलाई नै दिने गरी सुरक्षित राखिएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

त्यसो त मन्त्रालयले आगामी ७ बैशाख देखि पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज दिने योजना बनाएको छ । त्यसका लागि अहिले बाँकी रहेकै खोप प्रयोग हुन सक्ने बताइएको छ । पहिलो चरणमा साढे ४ लाख बढीले मात्रै खोप लगाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *