माल्दिभ्सले आफ्ना जनतालाई घर घरमा पुगेर कोभिडबिरुद्धको खोप दिने
माले, ५ फागुन । माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सेवा घरघरमा पुगेर दिने घोषणा गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोभिड–१९ को महामारी तथा असक्तताका कारण घरभन्दा टाढा पुगेर सेवा लिन असमर्थ समुदायलाई लक्षित गरी मोबाइल खोप सेवा उपलब्ध गराउन लागिएको माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए), माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले पुष्टि गरेका छन् ।
सरकारको अभियानलाई सफल पार्न यी संस्थाहरूले प्रतिवद्धता जनाएका हुन् ।
अभियानबारे एमआरसी सेक्रेटरी जनरल फतिमा हिम्यलाई उद्धृत गरी भनिएको छ, “एमआसीले गाउँ गाउमा पुगेर खोप लगाउन नागरिकहरूलाई सचेत बनाएको छ साथै खोप अभियानमा सहयोग गरेको छ । ती संस्थाहरूले खोप लगाएपछि हुने सम्भावित समस्यालाई मध्य नजर गर्दै एम्बुलेन्समार्फत आकस्मिक सेवासमेत दिने जनाइएको छ ।
माल्दिभ्सले फेब्रुअरी १ देखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम अघि बढाएको छ भने अहिलेसम्म ४३ हजार ८१७ व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिइसकेको छ । खोप लगाएका मध्ये अधिकांश मानिस राजधानी माले तथा अन्य सहरी क्षेत्रका रहेका छन् । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



