भारत र चीनबाट कोभिड बिरुद्धको थप खोप ल्याउँदै छौँ : प्रधानमन्त्री ओली


काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबिरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारत र चीनबाट थप खोप ल्याउन लागेको बताएका छन् । उनले थप खोपहरु केही किनेर र केही अनुदानमा ल्याउन लागेको समेत स्पष्ट पारेका छन् ।

नेकपा लुम्बिनीद्धारा आज बुटवलमा आयोजित जनसभालाई सम्वोधन गर्ने क्रममा प्रधानमन्त्रीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामहरुको चर्चा गर्दै थप खोप ल्याउने प्रसंग जोडेका थिए ।

उनले भने, ‘कोभिड -१९ विश्वव्यापी रुपमा आयो । यसले विश्वका करोडौँ जनतालाई आक्रान्त गरायो । लाखौँको ज्यान गयो । नेपालमा पनि आयो तर हामीले यसलाई अत्यन्तै सावधानीसाथ अन्त्य गर्दैछौँ । त्यसका लागि खोप ल्याएका छौँ । गत १४ माघ देखि लगाउन समेत सुरु गर्‍यौँ । अव भोलि पर्सीबाट दोस्रो चरणको अभियान सुरु गर्दैछौँ ।’

प्रधानमन्त्री ओलीले अगाडी थपे, ‘अव शुरु हुन लागेको दोस्रो चरणको अभियानका लागि भारत र चीनबाट नयाँ खोपहरु ल्याउँदै छौँ । केही किनेर केही अनुदानमा । कोभ्याक्स अन्तरगर्त पनि निशुल्क खोप आउँदैछ ।’

सम्वोधनकै क्रममा उनले कोभिडको जोखिम अहिले पनि कायम रहेको भन्दै जवसम्म नियन्त्रण हुँदैन मास्क लगाउन र सकेसम्म सामाजिक दुरी कायम राख्न समेत अनुरोध गरे ।

उनले कोरोना महामारी परीक्षण गर्न ८३ वटा प्रयोगशाला भएको र दैनिक तीसौ हजार क्षमतामा परीक्षण गर्न सक्ने भएको भन्दै समय समयमा सरसफाई गर्न र लक्षण देखिना साथ परीक्षण गर्न समेत आम कार्यकर्तालाई आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *