अर्बुद रोगीलाई प्रदेश सरकारको सहयोग


चितवन, ३० माघ । वाग्मती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई रु ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले रु एक लाख उपचार सहयोग गर्दै आएको थियो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता भएको छ ।

उनका अनुसार क्यान्सर उपचारमा लाग्ने खर्चमा सरकारले दिँदै आएको रु एक लाखमा प्रदेश सरकारले थप रु ५० हजार उपलब्ध गराउने भएको हो । सङ्घीय सरकारको रकम सकिएपछि प्रदेश सरकारको रकम खर्च गरिनेछ । प्रदेशभित्रका स्थायी बासिन्दालाई मात्र यो सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

उनका अनुसार प्रदेशले यो सुविधाका लागि चालू आर्थिक वर्षमा रु सात करोड विनियोजन गरेको छ । यस अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामीमध्ये ४० प्रतिशत हाराहारी वाग्मती प्रदेशका जनता हुने गरेका छन् ।

थप सहयोग पाएसँगै बिरामी र तिनका परिवारलाई राहत पुग्ने उनको भनाइ छ । क्यान्सर रोगको उपचार निकै खर्चिलो हुन्छ । निजीमा उपचार गर्न खर्चका कारण जो कोहीलाई कठिन हुने गर्दछ । सरकारीमा समेत उपचारका लागि आवश्यकपर्ने उपकरण, औषधिलगायत महङ्गो पर्ने भएकाले उपचार खर्चिलो हुने गर्दछ ।

चितवन मेडिकल कलेजमा कपाल प्रत्यारोपण सेवा

चितवन मेडिकल कलेजले कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको छ । कलेजले अहिलेसम्मकै अत्याधुनिक प्रविधिबाट आगामी फागुन १ गतेदेखि कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको हो ।

कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार विकसित मुलुकमा शुरु भएको नवीनतम प्रणालीबाट विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा शुरु गर्न लागिएको हो । विगत पाँच वर्षदेखि कपाल र छालासम्बन्धी सेवा दिँदै आएको कलेजले काठमाडौँ विशालनगरस्थित अरोगिन हेल्थकेयरको समन्वयमा जिल्लामा पहिलो पटक यो सेवा शुरु गरेको उनले जानकारी दिए ।

उनका अनुसार भारतको चण्डीगढ़मा छाला तथा कपालसम्बन्धी विषयमा स्नातकोत्तर गरेर आएकी डा श्रद्धा उप्रेती नेतृत्वको टोलीले यो सेवा प्रदान गर्नेछ । कपाल, छाला एवं यौन रोग विशेषज्ञ डा उप्रेतीले कपाल झरेर तालु चिल्लो भएको, घाउचोट वा पोलेको दागका कारण कपाल नभएको स्थानमा समेत प्रत्यारोपण गर्न सकिने जानकारी दिए । उनले भने, “विशेष गरेर महिलामा हेयर लाइन मिलाउनुपर्ने अवस्थामा कपाल प्रत्यारोपण गर्न मिल्छ, कपाल झर्ने समस्याका लागि पनि विभिन्न थेरापीबाट समस्याको हाल गरिन्छ ।” हालसम्मकै अत्याधुनिक प्रणालीबाट कपाल प्रत्यारोपण सेवाका साथै छाला, सौन्दर्य र यौन रोगसम्बन्धी सम्पूर्ण उपचार हुने उहाँले जानकारी दिए ।

उनका अनुसार कलेजले ल्याएको प्रविधि विश्वमा नै हालसम्मको सबै भन्दा नयाँ हो । रोपेको जति शतप्रतिशत कपाल बाँच्ने र कम समयमै राम्रो परिणाम आउने हुनाले हाल प्रायः सबै जनाले यो प्रविधि नै रोज्ने गरेको डा उप्रेतीको भनाइ छ ।

अरोगिन हेल्थकेयरका प्रबन्ध निर्देशक रोशन पाण्डेले आफूहरुले काठमाडौँबाट यो सेवा दिँदै आएको जानकारी दिँदै अब चितवनलगायत यस आशपासका बासिन्दा यो सेवाबाट लाभान्वित हुने बताए ।

चितवन मेडिकल कलेजले केही समय अघि अत्याधुनिक स्प्याक्टसिटी मेसिनसमेत भित्र्याएको छ । उक्त मेसिन भित्र्याएसँगै चिकित्साशास्त्रको अत्याधुनिक र अतिविशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवासमेत शुरु भएको छ । कलेजले यस किसिमको अत्याधुनिक उपकरण नेपालमा पहिलोपटक आफूले शुरु गरेको जनाएको छ ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले स्वास्थ्यसँग सम्बन्धित सेवाका लागि बिरामी विदेश जानु नपर्ने गरी सेवा बिस्तार गरिएको बताए। उनले भने, “हामी विश्वका ठूला अस्पतालले दिने सेवा यही दिनका लागि काम गरिरहेका छौँ ।” कतिपय विभाग नेपालको उत्कृष्ट रहेको भन्दै उनले आफ्नो प्रतिस्पर्धा विदेशका ठूला अस्पतालसँग हुनेगरी उपचार सेवा बिस्तार गरिरहेको जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *