स्थायी बन्ध्याकरणमा पुरुषले देखाएनन् रुचि

परासी, २० माघ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को दक्षिणी क्षेत्रका पुरुषले परिवार नियोजनको स्थायी बन्ध्याकरणका लागि अनिच्छा देखाएका छन् । स्वास्थ्य कार्यालय परासीले जिल्लामा सञ्चालन गरिरहेको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा महिला मात्र देखिएका छन् ।

यही माघ ५ गतेदेखि जिल्लाको विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बन्ध्याकरण शिविरमा अहिलेसम्म ४०० जनाले सेवा लिएकामा सबै महिला मात्रै रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए । जिल्लाको दक्षिणी क्षेत्रअन्तर्गतका सुस्ताको नर्सही स्वास्थ्यचौकी, प्रतापपुरको प्रतापुर स्वास्थ्यचौकी र जनगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, सरावलको भुजहवा स्वास्थ्यचौकी र पाल्हीनन्दन गाउँपालिकाको हरपुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा पुरुष नआएको उनले बताए ।

“शिविरमा महिला र पुरुष दुबै आउनुपर्ने हो तर महिला मात्र आउनुभएको छ, यो विगतदेखिकै प्रचलन रहेछ, सजिलोको हिसाबले त महिलाभन्दा पुरुषको बन्ध्याकरण गर्न सहज हुन्छ”, उनले भने ।

पाल्हीनन्दन–३ प्रसियाकी लक्ष्मिना हरिजनले परिवार नियोजनका अन्य साधनभन्दा बन्ध्याकरण भरपर्दो भएकाले बन्ध्याकरण गर्न आएको बताए । तीस वर्षीय हरिजनका दुई छोरी र दुई छोरा छन् । सन्तानको रहर पूरा भएकाले विदेशमा रहनुभएका श्रीमानसंग सल्लाह गरेर आफूले बन्ध्याकरण गरेको उनले बताइन् ।

प्रसियाकै गीतादेवी हरिजनले भने श्रीमान् कमाउनका लागि बाहिर हिँड्नुपर्ने र भविष्यमा भारी किसिमका काम गर्न नसक्ने भएकाले आफूले बन्ध्याकरण गरेको बताउछिन् । “हामी महिला घरायसी काममा व्यस्त हुन्छौँ, बाहिरी काममा खासै जादैनौँ, श्रीमानले बाहिरी काम र कडा परिश्रम हुने काम गर्नुपर्ने हुन्छ, उहाँले बन्ध्याकरण गर्दा भविष्यमा कमजोरी हुन्छ, त्यसैले मैले नै बन्ध्याकरण गरेकी हुँ”, उनले भनिन् । तीन सन्तानकी आमा गीतादेवीले तराईमा पुरुषले बन्ध्याकरण गर्न नमान्ने गरेको बताउछिन् ।

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले कमजोरी हुने डरले पुरुषहरु स्थायी बन्ध्याकरण गर्न नमान्ने गरेको बताउछन् । “तराईमा महिलाहरु घरायसी काममै व्यस्त हुने, बच्चाको स्याहारसुसार गर्नुपर्ने, दुःखपीडा पनि महिलाले नै धेरै भोग्ने भएकाले महिला बन्ध्याकरणमा आकर्षित भएका हुन्”, उनले भने।

स्थायी बन्ध्याकरण गर्दा कमजोरी हुने र भविष्यमा परिवारको जीविका चलाउन नै मुस्किल हुने हो की भन्ने भ्रम पुरुषमा रहेको देखिएको छ । विगतदेखि नै व्याप्त यो धारणा भने गलत रहेको स्वास्थ्य कार्यालय प्रमुख पोखरेल बताउछन् । ‘‘पुरुषले बन्ध्याकरण गराउँदा कमजोर भइन्छ, नपु्ङ्शकता, यौन दुर्वलता हुन्छ भन्ने भ्रम मात्रै हो, यसमा सत्यता छैन्, यसका लागि व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ’’, उनले भने ।

पुरुषले वास्ता नगर्ने र महिलाको बन्ध्याकरण जोखिमपूर्ण हुने गरे पनि स्थायी बन्ध्याकरणमा महिला नै अग्रसर हुने गरेको पाइन्छ । पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण छ । पुरुषहरूले बन्ध्याकरण गर्न नमान्ने गरेको चिकित्सक बताउँछन् ।

स्वास्थ्य कार्यालयले यही माघ २८ गतेसम्म जिल्लाका सातै स्थानीय तहमा स्थायी बन्ध्याकरणको शिविर सञ्चालन हुने जनाएको छ । सन्तानको रहर पुगेका दम्पतीलाई बन्ध्याकरणमा सहभागी हुने कार्यालयले अनुरोध गरेको छ । बन्ध्याकरणमा ५०० जनाको लक्ष्य लिएकामा अहिले चार पालिकाबाट मात्रै ४०० बढीले सेवा लिएकाले लक्ष्यभन्दा बढीलाई सेवा दिनुपर्ने अवस्था आएको कार्यालयले जनाएको छ । प्रदेश सरकारले प्रत्येक वर्ष नै नागरिकको घरदैलोमा पुगेर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ ।

स्थायी बन्ध्याकरणको सेवा नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको छ । शिविर सञ्चालन गर्दा उत्साहजनक उपस्थिति हुने गरेपछि पृथ्वीचन्द्र अस्पताल परासीबाट पनि दैनिकरुपमा बन्ध्याकरणको सेवा सञ्चालनको तयारी गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले एक जना चिकित्सकसहित तीन जनाको दरबन्दी हुने गरी परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा सञ्चालन गर्न अस्पताललाई बजेट पठाएको र अब छिट्टै सेवा सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमुख पोखरेलले जानकारी दिए। गर्भवती, पाठेघर खस्ने समस्या भएका, पहिले सघन शल्यक्रिया गरेका तथा ६० वर्ष माथिका महिलाले मिनील्याप गर्न नमिल्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बन्ध्याकरणमा आउने सेवाग्राहीलाई यातायातको सुविधाका साथै खाजा खर्चसमेत दिने गरिएको छ । स्थायी बन्ध्याकरणमा पुरुषलाई आकर्षित गर्न स्थानीय तहको अग्रसरतामा सचेतना सञ्चालन गर्न आवश्यक रहेको चिकित्सक बताउछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *