बैतडीका कैदीबन्दीले लगाए कोरोनाविरुद्धको खोप


बैतडी, १९ माघ । यहाँ आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिए ।

कारागारमा हाल ७१ कैदीबन्दी र थुनुवा रहेका छन् । सोमा ३९ कैदीबन्दी र ३२ थुनुवा छन् । सरकारले कैदीबन्दीलाई पनि पहिलो चरणमै खोप लगाउनका लागि प्राथमिकतामा राखेकाले खोप लगाउन शुरु गरिएको हो । कैदीबन्दी तथा थुनुवालाई कारागार कार्यालयभित्रै गएर खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगशप्रसाद भट्टले जानकारी दिए ।

खोप केन्द्र थपियो

यहाँ पहिलोपटक नगरपालिकाबाट पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । पुर्चौडी नगरपालिकामा पनि खोप केन्द्र स्थापना गरी खोप लगाउन शुरु गरिएको जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले जानकारी दिए । यसअघि यही माघ १४ गतेदेखि जिल्ला अस्पताललाई मात्रै खोप केन्द्र तोकिएको थियो । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला अस्पताल बाहिर पहिलो पटक पुर्चौंडीमा खोप केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पुर्चौडीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा रहेको छ । सरकारले कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालनमा ल्याएकाले दुर्गम क्षेत्रका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सहज होस् भनेर जिल्ला सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *