‘बहिनी बाँच्न चाहन्छे’

मणिपाल शिक्षण अस्पतालमा उपचाररत सुशीला पुन

बागलुङ, २३ पुस । मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन् । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थापेका हुन् ।

“बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्”, बुधबार सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा पुनले भने । उनले ३३ वर्षीय बहिनीको भविष्यलाई लिएर आफ्नो परिवार चिन्तामा परेको बताए ।

डेढ वर्षअघि रोग पहिचान भएपछि बहिनीको उपचारका लागि पाल्पा, भैरहवा हुँदै पोखरासम्मका अस्पतालमा धाएको पुनले सुनाए । सुशीलाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

शुरुमा पाल्पाको मिसन अस्पतालमा १२ दिनसम्म राखेपछि चिकित्सकले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा रिफर गरेका थिए । पछि भैरहवामा पनि उपचार सम्भव नभएपछि पोखरा लगिएको पुनले बताए । त्यतिञ्जेलसम्म उपचारमा सवा दुई लाख जति खर्च भइसकेको थियो ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार थालेको पनि झण्डै एक वर्ष हुन थालेको छ । गत वर्ष फागुनयता मिर्गौलाको नियमित डायलासिस भइरहेको छ । दुवै मिर्गौलाले काम नगरेपछि पेरिटोनियल विधिबाट दैनिक तीन पटक डायलासिस गर्नुपर्छ । डायलासिससहित उपचार र हेरचाहमा अहिले मासिक रु ३० हजार खर्च भइरहेको छ ।

“आठ लाखभन्दा बढी खर्च भइसक्यो, उपचार धान्नै नसक्ने अवस्था भयो, सामान्य खेतीकिसानी गरेर खाने परिवारलाई गाह्रो हुँदोरहेछ”, पुनले भने । उनले डायलासिसका लागि सरकारले दिने छुटबाहेक पनि उपचारमा धेरै खर्च भइरहेको बताए । डायलासिस सेवा निःशुल्क दिने सरकारको नीति छ ।

मिर्गौलासम्बन्धी रोगमा लामो समयसम्म उपचार गर्नुपर्ने र महँगो पनि पर्ने हुँदा परिवारलाई अफ्ठेरो स्थिति आइलागेको पुनको भनाइ छ । सोचे जसरी सहायता जुटेमा सुशीलाको मिर्गौला प्रत्यारोपण गर्ने योजनामा पुन परिवार छ । प्रत्यारोपण नगरेमा भने जीवनभर डायलासिस गर्नुपर्ने हुन्छ । ‘सुशीला पुन उपचार सहयोग समिति’मार्फत आर्थिक सङ्कलन अभियान थालिएको बागलुङ नगरपालिका–९ का वडाध्यक्ष एवं मगर सङ्घ बागलुङका अध्यक्ष गणेश थापाले बताए ।

उनले विपन्न व्यक्तिको उपचारमा स्वतःस्फूर्त सहयोग जुट्नेमा विश्वास व्यक्त गरे । पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले स्थानीय तहदेखि राज्यका निकायबाट पनि सहयोग जुटाउन पहल गर्नुपर्ने बताए । सत्र वर्षको उमेरमा विवाह गरेर डेढ वर्ष नहुँदै श्रीमानसंग अलग्गिएकी सुशीला अहिले माइतीकै संरक्षणमा छिन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *