स्वास्थ्यबाट बिदाई भए मन्त्री भानुभक्त ढकाल

काठमाडौँ, ११ पुस । शुक्रबारको मन्त्रीमण्डल विस्तार र जिम्मेवारी हेरफेरका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा सरुवा भएका मन्त्री भानुभक्त ढकाल शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बिदाई भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व लिन हृदयेश त्रिपाठी आउने भएपछि शनिबार नै मन्त्री ढकाल बिदाई भएका हुन् ।

विदाईका लागि मन्त्रालयमा शनिबार दिउसो आयोजित सम्छिप्त कार्यक्रममा राज्यमन्त्री नवराज रावत, सचिव लक्ष्मण अर्याल र मन्त्रालय तथा विभागका उच्च अधिकारी तथा कर्मचारीहरुको सहभागिता थियो । सो अवसरमा मन्त्री ढकालले आफू स्वास्थ्यमा आएपछि गरेका र गर्ने तयारीमा रहेका मुख्य मुख्य कामहरुको जानकारी गराएका थिए । उनले स्वास्थ्यमा आफ्नो कार्यकालमा सहयोग गर्ने राज्यमन्त्री सहित सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए ।

सो अवसरमा राज्यमन्त्री रावतले कठिन र चुनौतीपूर्ण समयमा आफूहरु स्वास्थ्यमा आएको र १३ महिना संगै विताएको भन्दै यस अवधीमा धेरै महत्वपूर्ण काम भएको उल्लेख गरेका थिए । उनले राजनीतिक नेतृत्व आउने जाने प्रक्रिया भइरहेपनि स्थायी सरकारको रुपमा कर्मचारी नै रहने हो भन्दै यसमा अब पनि सबैको सहयोग आवश्यक रहने बताए ।

स्वास्थ्य सचिव अर्यालले मन्त्री ढकालको पालामा महत्वपूर्ण कामहरु भएको भन्दै मुख्य मुख्य कामहरुको सूची प्रस्तुत गरेका थिए । उनले नयाँ मन्त्रालयमा सफल कार्यकालको शुभकामना दिएका थिए ।

शुरुमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका ढकाललाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले ४ मंसिर २०७६ मा सरुवा गरी स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेकी थिइन । त्यसबेला उपप्रधानसहित स्वास्थ्यको जिम्मेवारी सम्हालेका उपेन्द्र यादवलाई कानूनमा सरुवा गरिएको थियो । तत्कालिन राज्यमन्त्री सुरेन्द्र यादवलाई भने हटाइएको थियो ।

स्वास्थ्य राज्यमन्त्री रावत पनि ढकालसंगै स्वास्थ्यमा आएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *