क्यान्सर अस्पतालमा भित्रिए अत्याधुनिक उपकरण


चितवन, ९ पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरण भित्रिएका छन् । बिरामीको उपचारमा सघाउने ती उपकरण भित्रिएसँगै सेवा प्रभावकारी हुने देखिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार आधुनिक माइक्रोस्कोप, इबस र लेजर सर्जरी उपकरण भित्रिएका हुन् । उनका अनुसार आधुनिक माइक्रोस्कोपले आँखाले देख्न नसक्ने सानाभन्दा साना शल्यक्रिया गर्न सहज हुनेछ । केही दिनअघिबाट सञ्चालनमा आएको यो उपकरण रु एक करोड ५० लाखमा खरीद गरिएको हो ।

यसैगरी इबसले मुखबाट पाइप हालेर शरीरको भित्री भागलाई हेर्न मिल्छ । उनका अनुसार यसले अल्टासाउण्डसमेत काम गर्दछ । शरीरका भित्री भागको फोटो खिचेर देखाउने हुँदा उपचारमा सहज हुने गौतमको भनाइ छ । रु तीन करोडको लागतमा उक्त उपकरण खरीद गरी जडान गरिएको हो ।

लेजर सर्जरीले शरीरको बाहिरी भाग नचिरेर नै शल्यक्रिया गर्न सकिन्छ । गौतमका अनुसार यसले भित्री भागमा तोकिएको ठाउँमा गएर रे मार्फत अनावश्यक वस्तु काट्न मिल्छ । मुख्यरुपमा घाँटीको स्वरयन्त्रको क्यान्सर उपचारमा यो प्रविधि प्रभावकारी हुने उनले बताए । रु तीन करोडमा खरीद गरी जडान गरिएको यो उपकरण केही दिनमै सञ्चालनमा आउँदै छ । लेजर सर्जरीको प्रयोग गरी शल्यक्रिया गरेका बिरामी अस्पतालमा लामो समय बस्नुपर्दैन । बाहिरी घाउ नहुने भएकाले छिटो निको हुने डा गौतमको भनाइ छ । यसबाट वर्षेनी ५० जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित हुने अस्पतालले जनाएको छ ।

उपकरणको अभावमा बिरामी उपचारका लागि भारत जानुपर्ने बाध्यता थियो । यस्तै अस्पतालले विद्युतीय प्रविधिबाट भुक्तानी सेवा शुरु गरेको छ । व्यवस्थित काउन्टर बनाएर भुक्तानीका लागि लामो समय लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको गौतमले जानकारी दिनुभयो । जसले गर्दा बिरामी र आफन्त लाभान्वित भएका छन् ।

अस्पतालले पछिल्लो समय आकस्मिक कक्ष व्यवस्थित बनाएको जनाएको छ । कोरोना सङ्क्रमणका कारण बिरामीको सङ्ख्या केही घटेको भएपछि पछिल्ला दिनमा पूर्ववत् अवस्थामा बिरामी आउन थालेका छन् । विगतमा बिरामीले व्यहोर्नु परेका झन्झटमुक्त गराएर गुणस्तरीय उपचारका लागि आफू लागिपरेको गौतमले बताए ।

अस्पतालमा गत वर्ष एक लाख ४५ हजार ७७६ जनाले सेवा लिएका थिए । यहाँ नेपाल र छिमेकी देश भारतबाट क्यान्सरको उपचार गर्न बिरामी आउने गर्दछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *