कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

सुर्खेत, ३० मंसिर । कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ ।

कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुम प्रयोगशालामा पिसीआर विधिबाट कोरोनाको परीक्षण हुने गरेको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतबाट ४० हजार ५८ जनाको परीक्षण भएको छ ।

महाशाखाका अनुसार जुम्लाबाट २७ हजार ९५५, दैलेखबाट छ हजार ८२५ र चौरजहारीबाट १० हजार ३५०, भेरी अस्पताल बाँकेबाट ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १७, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट दुई र कमलबजार प्रयोगशाला अछामबाट ८९ जनाको पिसीआर परीक्षण गरिएको छ ।

महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा हालसम्म सात हजार ११३ जना सङ्क्रमित भएको उल्लेख छ । कर्णालीबाहेक अन्य प्रदेशका ५५० र भारतीय नागरिक पाँचसमेत गरी कूल सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको हो । त्यस्तै कोरोनामुक्त हुनेको सङ्ख्या छ हजार ६५७ रहेको छ ।

कर्णाली प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९४ रहेको तथा मृत्यु हुनेका सङ्ख्या २२ रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *