टीकापुर : महिला स्वास्थ्यस्वयंसेविकालाई साइकल


टीकापुर, २६ मंसिर । महिला स्वास्थ्य स्वयंसेविका रञ्जितादेवी टमट्टालाई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उनको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । रञ्जितालाई वडा कार्यालयले साइकल वितरण गरेको छ । साइकल पाएपछि उहाँ अब आवतजावतमा सहज हुने बताउछिन् । “हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो”, रञ्जिताले भनिन्, “सरकारले समयमै बुझेछ । साइकल उपहार दियो । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।”

स्वयंसेविका सरिता ठकुल्लाको घरबाट स्वास्थ्य संस्था पुग्न एक घण्टा लाग्छ । सरितालाई पनि साइकल पाएपछि अब सजिलो भएको छ । “हामी वडाका हरेक काममा हिँड्नुपर्छ, पैदल हिँडेर सबै भ्याउनुपर्ने समस्या थियो”, सरिताले भनिन्, “नगरपालिकाले साइकल दियो । अब सबै साथीलाई सजिलो हुन्छ । हामीले वडाध्यक्षलाई साइकल चाहियो भनेका थियौँ, व्यवस्था गरिदिनुभएछ ।”

नगरपालिकाले वडा नं ८ का १३ महिलालाई साइकल वितरण गरेको छ । साइकल पाएपछि रञ्जिता र सरिता मात्र होइन, झम्टी साउदलगायतका सबै स्वयंसेविका खुशी भएका छन् । उनीहरुले अझ थप स्वास्थ्य सेवा प्रभावकारी बनाउन काम गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिका–८ ले वडाभित्रका १३ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल पुरस्कार दिएको हो ।

वडा कार्यालयले वडामा उत्कृष्ट सेवा दिएवापत दुई महिला स्वास्थ्य स्वयंसेविका मीना टमट्टा र डम्मरा बोहरालाई भित्तेघडीसमेत प्रदान गरेको छ । नगरप्रमुख तपेन्द्रबहादुर रावलले स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउँदै स्वयंसेविकाकै सहयोगका कारण नगरपालिका स्वास्थ्य सेवामा सुदूरपश्चिममै उत्कृष्ट हुन सफल भएको बताए । “हामी यहाँहरुको लगनका कारण सुदूरपश्चिममा उत्कृष्ट भएका हौँ”, नगरप्रमुख रावलले भने, “यहाँहरुले स्वास्थ्य सेवामात्र नभई सामाजिक अभियान, विकासका कार्यमा समाजलाई जागरुक बनाउने काम पनि गर्नुभएको छ ।”

उनले आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाले उच्च मनोबलका साथ सेवा प्रदान गर्ने वतावरण तयार गर्ने बताए । वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वडा कार्यालयले स्वयंसेविकालाई प्रोत्साहन गर्ने, उनीहरुका आवश्यकता पूरा गर्ने जिम्मा सरकारको भएकाले आउँदा दिनमा यस्ता कार्यक्रम निरन्तर गरिने बताए । “हामी यहाँहरुलाई खुशी राख्ने प्रयास गर्नेछौँ, सेवा दिने मानिस सधैँ खुशी रहनुपर्छ”, ठकुल्लाले भने, “तपाईँहरुकै कारण महिलाको नेतृत्व र क्षमता विकास भएको छ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *