सुर्खेतमा थप एक कोरोना संक्रमितको मृत्यु


कर्णाली, २१ मंसिर । सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए । एक्कासि स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा उनमा अक्सिजन स्याचुरेशन कम रहेको, अक्सिजन आदान प्रदानका साथै भेन्टिलेटरमा राखेर उपचार गरिएको र सुधार नभएपछि शनिबार राति मृत्यु भएको महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । ती बिरामी बेहोस भएपछि छाती थिचेर ब्युँताउने प्रयास गरिएको थियो ।

स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको बताए । यससँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

सङ्क्रमितको सङ्ख्या छ हजार ९८३

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा पिसीआर विधिबाट गरिएको परीक्षणमा थप १२ जनाको पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै विभिन्न प्रयोगशालामा गरी हालसम्म ९३ हजार ३७३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । पछिल्लो तथ्याङ्कअनुसार छ हजार ४५१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *