बर्दियाको बाँसगढीमा १५ शैय्याको आधारभूत अस्पताल शिलान्यास

बर्दिया, १८ मंसिर ।  बर्दियाको बाँसगढी नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र प्रतिनिधि सभाका सांसद तुलसा थापाले संयुक्त रुपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

सरकारले यो आधारभूत तहका अस्पताल नभएका ३९६ वटा पालिकामा ५, १० र १५ शैय्याको अस्पताल निर्माण शुरु गर्दैछ । सोही अन्तरगर्त बाँसगढीमा बन्न लागेको अस्पताल भवनको शिलान्यास गरिएको हो ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले सरकारले स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक क्रान्तिको सुरुवात गरेको बताए । एकैपटक यति ठूलो र महत्वपूर्ण अभियानको शुभारम्भ भएको छ । ‘अब जग्गा वा रकम अभावका कारण भन्दै भवन निर्माणमा ढिलाई गर्न कसैलाई छुट छैन् । दुई बर्ष भित्र सबैले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने ।

कार्यक्रमका विशिष्ठ अथिति सांसद तुलसा थापाले जनताको स्वास्थ्यप्रति ध्यान दिएरै सरकारले अस्पताल निर्माणको अभियान शुरु गरेको भन्दै अब कुनै पनि नेपाली उपचारबाट बन्चित हुन नपर्ने ठोकुवा गरिन् । उनले स्थानीय तहमा स्वास्थ्य संस्था नभएका कारण रोग लुकाउन बाध्य भएका बर्दियाका महिलाहरुले अब सहजै उपचार सेवा प्राप्त गर्ने बताइन ।

बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले तोकिएको समय भन्दा छिटो निर्माण सम्पन्न गरी अस्पताल सञ्चालनमा ल्याउने र स्थानीय जनतालाई स्वास्थ्य सुविधा दिने आफ्नो प्रयास रहेको बताए ।

सरकारले गत १५ मंसिर देखि ३९६ स्थानीय तहमा आधारभूत र सातै प्रदेशमा सरुवा रोग अस्पताल शिलान्यास गर्ने कार्यक्रम शुरु गरेको थियो । सोही क्रममा बाँसगढीमा १५ शैय्याको अस्पताल भवन शिलान्यास गरिएको हो ।

यो अस्पताल १३ करोड लागतमा निर्माण हुँदै छ । अस्पतालमा ३ जना चिकित्सक सहित २७ जना स्वास्थ्यकर्मी रहनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *