नेपालमा साढे २९ हजार एचआईभी संक्रमित, ३० जना परे कोरोनाको संक्रमणमा

काठमाडौँ, १६ मंसिर । नेपालमा एचआईभी संक्रमितको संख्या २९ हजार ३०५ रहेको अनुमान छ । त्यसमध्ये ३० जना भने कोरोना संक्रमणमा समेत परेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । तर ती सबै उपचार पछि निको भइसकेका छन् ।

केन्द्रकी निर्देशक डा सुधा देवकोटाले अनुमानित आँकडा भन्दै नेपालमा हाल १७ हजार ५८७ पुरुष र ११ हजार ९१६ महिला गरी कुल २९ हजार ५०३ जना एचआइभी संक्रमित रहेको जानकारी दिइन् । तर कोरोना महामारीका बेला ती भएपनि एचआईभी संक्रमितको उपचार सेवामा कुनै प्रभाव नपरेको बताइन ।

उनले भनिन्, ‘लकडाउन तथा महामारीको समयमा पनि एचआइभी संक्रमितहरुले खाने औषधि एआरटी घर–घरमा पुर्‍याउने व्यवस्था मिलायौँ । त्यसैले उनीहरुले पाउने सेवामा लकडाउनले खासै असर गरेन । अहिलेसम्म देशभर २ लाख ३३ हजार ४५२ जनामा कोरोना संक्रमण भइसकेका छन् तर एचआईभी संक्रमित ३० जना मात्रै कोरोना संक्रमणमा परेको जानकारी छ ।’

नियमित औषधि सेवन नगर्ने र लुकेर रहेका एचआइभी संक्रमितहरु मात्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको उनले बताइन् । सावधानी अपनाउन आवश्यक रहे पनि नियमित औषधि सेवन गर्ने र निरन्तर चिकित्सकको परामर्शमा रहने एचआइभी संक्रमित कोरोनाबाट डराइहाल्नु नपर्ने उनको भनाइ छ।

नेपालमा करिब ८० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ।

सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभी संक्रमणको दर समूहभन्दा उच्च रहेको केन्द्रले जनाएको छ। २०७७ सालको असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल एचआइभी संक्रमितमध्ये १९ हजार ४ सय १० अर्थात् ६६ प्रतिशत मात्र एआरभी उपचारमा छन्।

सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ। ८० वटा एआरटी केन्द्रबाट निशुल्क औषधि वितरण भइरहेको केन्द्रले जनाएको छ।

यस वर्ष एड्स तथा यौन रोग नियन्त्रणका लागि ५६ करोड ७२ लाख रुपैयाँ बजेट बिनियोजन भएको केन्द्रले जनाएको छ। जसमध्ये औषधि र औषधिजन्य सामग्रीका लागि मात्र ८५ प्रतिशत बजेट खर्च हुने गरेको छ।

एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारा सहित आज ३३ औँ विश्व एड्स दिवस मनाइँदैछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *