स्टार अस्पतालले भन्यो, ‘हामीले दिएको आरटी पीसीआर रिपोर्ट गलत छैन्’


काठमाडौँ, ९ मंसिर ।  सानेपास्थित स्टार अस्पताले आफूले गरेको कोरोना परीक्षण र त्यसबाट आएको रिपोर्टमा कुनै त्रुटि नभएको बताएको छ । उसले आरटी पीसीआरका लागि संकलन गर्ने नमूना र परीक्षण विधि अन्तराष्ट्रिय मापदण्डको भएको भन्दै त्यसमा कुनै शंका नगर्न समेत स्पष्ट पारेको छ ।

पछिल्लो साता केही सञ्चारमाध्यममा स्टार अस्पतालको प्रयोगशालाले परीक्षण नै नगरी पीसीआर रिपोर्ट नेगेटिभ उपलव्ध गराएको, त्यहाँको प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट पाएका हवाई यात्रुहरु हङकङ तथा युएई लगायतमा मुलुकका एयरपोर्टमा जाँच गर्दा पोजेटिभ आएको जस्ता विषय उठेका थिए ।

अस्पतालले मंगलबार पत्रकार सम्मेलन मार्फत सोही विषयलाई स्पष्ट पारेको हो ।

‘हाम्रो प्रयोगशालामा पीसीआर जाँच गराएका केही हवाई यात्रुको रिपोर्टको विषयमा प्रश्न उठेछन्, स्वास्थ्य मन्त्रालयले त्यस विषयमा सत्य तथ्य बुझ्नका लागि उच्चस्तरीय कमिटी नै खडा गर्‍यो । र अहिले सो कमिटिले प्रतिवेदन बुझाई सकेको छ । अनुसन्धान पछि सो कमिटिले दिएको प्रतिवेदनमा हाम्रो प्रयोगशालाबाट परीक्षण गरिएका कुनै पनि नमूनामा गलत नभएको ठहर गरेको छ,’ अस्पतालका मेडिकल डाइरेक्टर डा शैल रुपाखेतीले भने ।

उनले अगाडी थपे, पर्यटन मन्त्रालयले हामीकहाँबाट जाँच गराई हङकङ तथा युएई पुगेका १० जना यात्रुको रिपोर्ट त्यहाँका विमानस्थलमा जाँच गर्दा पोजेटिभ आएको भनेर चासो व्यक्त गरेको रहेछ । हामीले जाँच गरेका मध्ये ३ जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि पुगेको थियो । प्रश्न उठेपछि हामीले यहाँ पनि पुन दोहार्‍याएर जाँच गर्‍यौँ र त्यहाँ पनि जाँच भयो । रिपोर्ट नेगेटिभ नै आयो । त्यसैले हाम्रो रिपोर्ट विश्वसनीय छन् । तर फल्स पोजेटिभ र नेगेटिभ हुनसक्ने तथा विन्डो पिरियडमा पनि त्यस्तो समस्या देखिन सक्छ,’ भन्दै उनले अगाडी थपे, ‘आरटी पीसीआरले ६७ देखि ७० प्रतिशत नतिजा सहि दिनसक्छ भनिएको छ । त्यसमा परेको पनि हुनसक्छ वा भर्खरै भाइरस परेको र दुई दिन पछि एक्टिभ भएको पनि हुनसक्छ । त्यसतर्फ पनि विज्ञहरुको ध्यान जानुपर्छ ।पर्यटन मन्त्रालयले विदेश गएका १० जनाको रिपोर्टको बारेमा जो प्रश्न उठायो, त्यसमा यी कारण पनि हुनसक्छ ।’

डा. रुपाखेतीले मन्त्रालयले नेगेटिभको एक महिना र पोजेटिभ हुनेको ३ महिनासम्म नमूनाहरु भण्डारण गर्ने निर्देशन बारे आफूलाई जानकारी नआएको र कुनै निर्देशन नै नभएको दावी गरे ।

‘पुरानो मापदण्डमा अहिले भनिएको व्यवस्था थिएन । हामीले सोही मापदण्ड अवलव्बन गर्‍यौँ । अर्को कुरा करोडौ लगानी थपेर हामीले महामारीविरुद्ध गुणस्तरीय सेवा उपलव्ध गराउने योजना गर्‍यौँ र गरिरहेका छौँ । परीक्षण मात्रै होइन, अरु अस्पतालले कोभिड भनेर भर्ना नलिएका थुप्रा विरामीहरु हामीले लिएका छौँ । हामीसंग नमूना भण्डारण गर्ने क्षमता पनि छ भने किन यस्तो गर्नु ?’ प्रतिप्रश्न गर्दै उनले भने ।

अस्पतालका अध्यक्ष किशोर महर्जनले कोरोना परीक्षण र उपचारमा ब्राण्ड बनिसकेको अस्पतालले नक्कली र गलत काम गर्छ भनेर सोच्न पनि नमिल्न बताए । ‘अहिलेसम्म ७८ हजार ३० जनाको आरटीपीसीआर गर्‍यौं, १४ हजार ३३८ जनाको रिपोर्ट पोजेटिभ आयो । पुन परीक्षण गराएका १ हजार ५६२ जनाको रिपोर्ट पनि पोजेटिभ आयो । हामीले कुनै पनि दिन रिपोर्ट पेन्डिङ राखेका छैनौँ । आएका सबै विरामीको उपचार गरेका छौँ । पहिले पुल्चोकका जनताले नचिन्ने स्टार अस्पतालमा अहिले भक्तपुर, चितवन, धादिङ रसुवा सम्मका मान्छेहरु आउने गरेका छन् । त्यो ख्यातिका लागि हामीले ठूलो लगानी गरेका छौँ । अनि यति बदनाम हुने गरी काम गर्छौं होला ?’ उनले प्रतिप्रश्न गर्दै भने ।

‘अव त सरकारी छानवीन टोलीले पनि गलत छैन् भनेर भनिसक्यो ,’उनले भने ।

अस्पतालका कोभिड युनिट इन्चार्ज डा अनिल पोखरेलले लक्षण भएका संक्रमितको उपचार गर्न र निको पार्नका लागि आफूहरुले कुनै कसर बाँकी नराखेको बताए । ‘हामीले अन्यत्रको पनि उपचार पद्धती सुनेका छौँ देखेका छौँ । तर हामीकहाँ त्यो भन्दा धेरै नै राम्रो हुन्छ । हामीले आवश्यक सुरक्षात्मक उपाय अबलम्बन गरेरैँ सेवा दिईरहेका छौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *