स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित

  • निर्माण प्रक्रिया अघि बढाउन अर्थले दियो स्वास्थ्यलाई 'ग्रिन सिग्नल'
  • - नेपाली हेल्थ

    काठमाडौँ, ५ मंसिर । सङ्घीय सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्यका साथ पहिलो चरणमा कूल ३९६ अस्पतालका लागि स्रोत सुनिश्चित गरेको छ । उक्त स्रोतबाट स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुनेछन् ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि रु ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार बराबरको निर्माण संरचना अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति दिएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले पाँचदेखि १५ श्ययाका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

    यसरी कायम हुने रकम स्वास्थ्य मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानका रुपमा उपलब्ध गराइनेछ । अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि रु छ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ ।

    अर्थमन्त्री पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार यही मङ्सिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

    चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।


    Facebook Comment


    थप समाचार