डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौँ, २९ कात्तिक । कोरोना संक्रमणमा परी त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीवेर अघि ट्वीट गर्दै सो जानकारी दिएका हुन् । उनले डा केसीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
उनले ट्वीटमा भनेका छन्, ‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।’
स्वास्थ्य शिविरको शिलशिलामा रसुवा पुगेका डा केसी कोरोनाको सामान्य लक्षण देखिएपछि विहीबार पीसीआर जाँचका लागि नुवाकोटस्थित त्रिशुली अस्पताल झरेका थिए । शुक्रबार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
उनी शुक्रबार नै काठमाडौँ आई त्रिवि शिक्षण अस्पतालको कोभिड उपचार युनिटमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



