स्वास्थ्य मन्त्रालयसंग सम्झौँता गरेका सबै अस्पतालमा कोरोनाको उपचार नि:शुल्क
काठमाडौँ, २५ कात्तिक । अब सरकारी अस्पतालमा कोरोनाको उपचार निशुल्क हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना उपचार गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सम्झौँता गरेका सबै अस्पतालमा उपचार निशुल्क गर्ने निर्णय गरेको हो । कोरोना उपचारका लागि सरकारी संगै केही निजी अस्पताल र मेडिकल कलेजहरुले सम्झौँता गरेका छन् ।
यस्तै सोमबारकै मन्त्रिपरिषद सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निशुल्क गर्ने निर्णय समेत गरेको छ ।
यसअघि गत २८ भदौमा बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम बैठकले कोरोना संक्रमित विपन्न नागरिक, एकल महिला, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको मात्र उपचार गर्ने निर्णय गरेको थियो। सोही आधारमा कतिपय सरकारी अस्पतालले समेत उपचारका लागि धरौटी माग गरेका थिए ।
स्वास्थ्य मन्त्रालयका एक जना उच्च अधिकारीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले लक्षण र चिन्ह देखिएकाहरुको परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको छ । ‘पहिले पनि हामी कोरोनाको परीक्षण र उपचार निशुल्क नै गरेका हौँ । त्यसमा म आफै गर्न सक्छु भन्नेहरुका लागि मात्रै च्वाइस दिइएको थियो । अहिले त्यहि कुरालाई थप स्पष्ट पारिएको छ,’ ती अधिकारीले भने ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकार कोरोनाको उपचारका लागि आफ्नो दायित्वबाट पछि नहटेको तर केही भ्रम उत्पन्न भएपछि थप स्पष्टताका लागि निर्णय भएको बताए ।
यसअघि कोरोनाको परीक्षण र उपचार निशुल्क हुनुपर्ने दायित्वबाट सरकार पछि हटेको भन्दै सर्बोच्चमा रिट परेको थियो । त्यसको सुनुवाई गर्दै सर्बोच्चले १५ असोजमा परीक्षण र उपचारमा निशुल्क गर्न सरकारलाई आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध स्वास्थ्य मन्त्रालयले पुनरावलोकन रिट हालेको थियो । तर सो रिट समेत सर्बोच्चले खारेज गरिदिएपछि मन्त्रिपरिषद्को यो निर्णय आएको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



