रोल्पामा आँखाका बिरामी बढे

ye
रोल्पा, १७ कात्तिक । रोल्पामा आँखाका बिरामी बढेका छन् । वायु प्रदूषण र मोबाइलको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएपछि जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचारका लागि जानेको चाप बढेको छ ।

विसं २०७५ मा तीन हजार ३९० जना बिरामीले आँखा परीक्षण गराएका थिए । यसरी परीक्षण गराएका मध्ये ६२ जनाले सामान्य शल्यक्रिया गरेका थिए । आँखामा मोतियाविन्दुको समस्या देखिएका १६८ जनाले शल्यक्रिया गरेका हुन् । गत वर्ष चार हजार ५६१ जनाले आँखाको परीक्षण गराएका थिए । यसरी परीक्षण गराएकामध्ये ११५ जनाले सामान्य शल्यक्रिया गरेका थिए । यसैगरी ३०५ जनाले मोतियाविन्दुको शल्यक्रिया गरेका थिए ।

यो सङ्ख्या चालु वर्षमा झनै बढेको देखिएको छ । चालु वर्षको कात्तिक १५ गतेसम्म दुई हजार ३८१ जनाले आँखाको परीक्षण गराएका छन् । यसरी परीक्षण गराएकामध्ये १०२ जनाले सामान्य शल्यक्रिया गरेको र अन्यले औषधि तथा चश्मा प्रयोग गरेको सामुदायिक आँखा केन्द्र रोल्पाले जनाएको छ ।

लामो समयसम्म भएको बन्दाबन्दीमा बालबालिकादेखि बुद्धबुद्धाले समेत मोबाइलको अत्यधिक प्रयोग गरेका कारण आँखाका विरामी बढेको हुनसक्ने सामुदायिक आँखा केन्द्र रोल्पाका इन्चार्ज मिलन खत्रीको भनाइ छ । बन्दाबन्दीको अवधिमा दैनिक पाँच÷सात जना बिरामी आउने गरेकामा अहिले यो सङ्ख्या दिनहुँ ३०÷३५ पुगेको खत्रीले बताए ।

दृष्टिदोष, बालबालिकामा आँखा रातो भएर चिलाउने, चोटपटक लाग्ने, मोतियाविन्दु, जलविन्दु, मधुमेह र उच्च रक्तचापजस्ता समस्या लिएर बिरामी आउने गरेको सामुदायिक आँखा केन्द्रले जनाएको छ । यसरी उपचार गर्नेमध्ये अधिकांश जिल्लावासी भएपनि छिमेकी जिल्ला प्यूठानबाट समेत आउने गरेको केन्द्रको भनाइ छ ।

रोल्पा नगरपालिका—२ निवासी चिन्तामणि आचार्यले दान दिएको जग्गामा बनेको भवनबाट २०७३ सालदेखि सेवा दिइएको छ । भवन निर्माणका लागि अमेरिका—नेपाल सहयोग मेडिकल फाउण्डेशनले सो भवन निर्माणमा सहयोग गरेको थियो । सेवा केन्द्रमा पाँच जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

आँखा केन्द्रले बिरामी परीक्षण, सामान्य शल्यक्रिया, शिविरमार्फत मोतिया विन्दुको शल्यक्रिया, चश्मा तथा औषधि वितरण र परामर्श सेवा दिदै आइरहेको छ । जिल्लामै यो सेवा उपलव्ध भएपछि जिल्ला बाहिर जानुपर्ने समस्याबाट मुक्त भएको परिवर्तन गाउँपालिका–३ की गङ्गासरी बुढाले बताए। मोवाइल तथा कम्युटरको बढी मात्रामा प्रयोग गर्दा पटकपटक आँखामा समस्या देखिने गरेको बुढाको भनाइ छ । लामो समयपछि आँखा केन्द्रबाट सामान्य सेवा पाइरहेका जिल्लावासीले विशेषज्ञसहितको अस्पतालबाट यो सेवा उपलब्ध भए थप सहजता हुने स्थानीय समाजसेवी नन्दकुमार आचार्यले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *